‘चपली हाईट २’ र ‘वीर विक्रम’ को सुरुवाती व्यापार : दुवै फिल्मका निर्माता भन्छन्, ‘भयो वम्पर’
फिल्म ‘चपली हाईट २’ र ‘वीर विक्रम’ ले प्रदर्शनको दोश्रो दिन शुक्रबार गज्जबको दर्शकको साथ पाएका छन् । दुवै फिल्मका निर्माताले आफ्नो फिल्मको शुक्रबारको व्यापारलाई वम्पर भनी व्याख्या गरेका छन् । फिल्म ‘चपली हाईट २’ का निर्माता अर्जुन कुमारले आफ्नो फिल्मले वम्वर ओपनिङ गरेको दाबी गरे । सुन्धारास्थित सिभिल मलमा साढे तीन बजे सञ्चारकर्मीका लागि विशेष शो राखेका निर्माता कुमारले भने, ‘फिल्मले वम्परको ओपनिङ गरेको छ । सबै मल्टीप्लेक्स हाउसफूल भएका छन् ।’ राजधानीका मल्टिप्लेक्समा मात्रै ‘चपली हाईट २’ ले दुई दर्जन बढी शोज पाएको छ ।
यता मल्टीस्टारर फिल्म ‘वीर विक्रम’ ले भने विशेष गरी सिङ्गल पर्दामा दर्शकको उल्लेख्य साथ पाएको छ । मल्टीप्लेक्समा कम शोज संख्या पाएको ‘वीर विक्रम’ ले राजधानीका गोपिकृष्ण, अष्ट नारायणका पर्दामा उलेख्य दर्शकको साथ पाएको छ । आफ्नो फिल्मले यस प्रकारको दर्शकको साथ पाएकोमा खुसी हुँदै निर्माता तथा निर्देशक मिलन चाम्सले भने, ‘सबै जसो हलमा गएँ, कतिपय हलहरुमा मैंले पनि टिकट पाइँन । यसअर्थ फिल्मको व्यापार वम्परको भएको छ ।’ पोखरामा दर्शकको चाप बढेपछि रात्रीकालिन शो समेत चलाइएको चाम्सले जानकारी दिए । लागेजति मल्टीप्लेक्समा आफ्नो फिल्मले हाउसफूल दर्शकको साथ पाएको उनले दाबी गरे । प्रदर्शनको पहिलो दिन बिहिबार भने दुवै फिल्ममा कम दर्शक थिए ।
ग्रामीण भेगका दुई साथीको मित्रता र प्रेमलाई देखाइएको फिल्म ‘वीर विक्रम’ मा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन, नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । यस्तै आधुनिक युवा पुस्ताको दैनिकीलाई मुख्य विषय बनाइएको फिल्म ‘चपली हाईट २’ मा आयुष्मान जोशी, मरिस्का पोखरेल र परमिताराज्य लक्ष्मी राणाको मुख्य भूमिका रहेको छ ।
For More videos Log on to Mazzako TV