पन्ध्र सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाविच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो ।भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए ।

salahes1

फिल्मलाई अमितेश शाहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।

करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा, चितवन र भारतका स्थानहरुमा हुने निर्माता महतोले जानकारी दिए । ‘हामी करिब ६ महिना प्रि–प्रोडक्सनमा व्यस्त हुनेछौं,’ निर्देशक शाहले भने, ‘त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं । एक वर्ष भित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ ।’ यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्धेश्य रहेको उनले बताए ।

salahes

मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ‘उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेश रहेको थियो,’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ‘यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षि नै हुन् । उनी त्यतिबेला राजाभएता पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ । ’

यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन् । फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन् । ‘यो ऐतिहासिक फिल्म भएकाले यसमा अभिनय गर्ने चरित्रहरु पनि ति पात्रहरुसँग मिल्नुपर्छ,’ निर्देशक शाहले भने, ‘त्यसैले फिल्ममा रहने प्रत्येक पात्रहरुको स्केचिङ पश्चात त्यस अनुसारको कलाकारहरु अडिसनमार्फत छनौट गर्ने तयारीमा हामी छौं । कलाकारहरुको छनौट नेपाल र भारतकाविभिन्नप्रमुख स्थानहरुमा अडिसन मार्फत गर्नेछौं ।’

फिल्ममा कथा डा.राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ । त्यसैगरी फिल्ममा सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए । भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन् । ‘मैले थुप्रै नेपाली फिल्ममा भिएफएक्स गरेको छु,’ कार्यक्रममा उनले भने, ‘तर, यो अरुभन्दा पृथक हुने देखिन्छ ।

सयौं वर्ष पुरानो कुरालाई यथार्थ ढंगमा देखाउनुपर्ने हुन्छ । मैले पहिलोपल्ट नेपाली फिल्ममा यो खाले भिएफएक्सको प्रयोग गर्ने मौका पाउदैछु ।’ पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्मको मिडिया संयोजक अनिल यादव रहेका छन् । निर्माण टिमका अन्य सदस्यहरु थपिने क्रममा छन् ।

For More videos Log on to Mazzako TV