भदौ ३ देखि मात्रै राजधानीमा ‘चपली हाईट २’ : लड्न चाहेनन् निर्माता
अन्ततः ‘चपली हाईट २’ राजधानीका हलहरुमा भदौ ३ गते मात्रै प्रदर्शन हुने भएको छ । काठमाण्डौं बाहिरका हलहरुमा भने ‘चपली हाईट २’ जनैपूर्णिमाको दिन अर्थात् भदौ २ गते नै प्रदर्शन हुनेछ । चलचित्र विकास वोर्डको हस्तक्षेपपछि ‘चपली हाईट २’ राजधानीका हलहरुमा एक दिन पर पुगेको हो ।
‘हामीले विवाद गर्न चाहेनौं, मुद्धा लड्न चाहेनौं’, बिहिबार राखिएको आकस्मिक प्रेसमिटमा निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म विरुद्ध निर्माता संघ र अर्का एक निर्माताले विकास वोर्डमा निवेदन दिएका रहेछन् ।’ फिल्म ‘जय परशुराम’ युनिटले ‘चपली हाईट २’ को मिति सार्न विकास वोर्डमा निवेदन दर्ता गराएको भन्ने बुझिएको छ । निर्माता अर्जुन कुमारले भने, ‘एउटा निर्माताले बनाएको फिल्मलाई निर्माता संघ र अर्को निर्माताले रोक्न मिल्छ ? यो त उहाँहरुको मूर्खता हो ।’ यद्पी निर्माता अर्जुन कुमारले आफुहरुले हार भने नखाएको दाबी गरे । ‘हामी पछि हटेका छैनौं, पछि लड्छौं’ उनले भने ।
यता निर्देशक दिपेन्द्र के.खनालले भने विकास वोर्डका अध्यक्ष राजकुमार राईको वचनबाट आफ्नो टिम तोकिएको मितिबाट एक दिन पछि हट्न राजी भएको बताए । उनले भने, ‘हिन्दी फिल्मलाई पनि नेपाली फिल्मलाई जस्तै नियम लगाउन पहल गर्छु भनेपछि हामी कन्भिन्स भएका हौं ।’ आधुनिक युवा पुस्ताको दैनिकीलाई लिएर निर्माण गरिएको फिल्म ‘चपली हाईट २’ मा नायिका मरिस्का पोखरेल, नव नायक आयुष्मान जोशी र नव नायिका परमिताराज्य लक्ष्मी राणाको मुख्य भूमिका रहेको छ ।