‘लुकामारी’ निर्माताको खुसी : हिरोलाई हिरोइनसँग सेल्फी !
नयाँ निर्माता सुरजमान सिंह भण्डारीले फिल्म ‘लुकामारी’ निर्माण गरेका थिए । असार १० गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्सका पर्दामा दर्शकलाई आकर्षण गर्न सक्यो । पहिलो पटक निर्माण गरेको फिल्मले सेफ ल्याण्डको अवस्था देखाएपछि निर्माता भण्डारीले आफ्ना कलाकारसँग खुसीयाली साटेका छन् ।
पहिलो फिल्मबाट आफु सुरक्षित हुने छाँटकाँट देखेपछि निर्माता भण्डारीले फिल्मका नायक कर्मलाई लड्डु खुवाए भने नायिका सुरविना कार्कीसँग कफी गफ गर्दै मज्जाको सेल्फी खिचे । के यो खुसीयाली सफलताकै हो त ? निर्माता भण्डारीले भने, ‘नेपालबाट सत्तरी प्रतिशत लगानी रिकभर भएको छ । बाँकी लगानी विदेशबाट उठ्ने पक्का छ । अब यसलाई तपाईं के भन्नुहुन्छ ?’ ‘लुकामारी’ निर्माणमा सत्तरी लाख लाख लगानी लगाएको उनको दाबी छ ।
फिल्म ‘लुट २’ को ‘वर्कसप’ बाट समय निकालेर ‘लुकामारी’ निर्मातासँग खुसी साट्न आइएका नायक कर्मले पनि फिल्ममा आफुले निभाएको भूमिकाबाट एकदमै राम्रो प्रतिक्रिया मिलेको बताए । कर्मले भने, ‘जतिले हेर्नु भएको छ । मन पराउनु भएको छ । धेरै समयपछि खुसी मिलेको छ ।’ यता यसअघि अभिनय गरेका फिल्मबाट असफलता मात्रै पाएकी नायिका सुरविना कार्की पनि ‘लुकामारी’ रिलिजपछि मख्ख छिन् । सुरविना भन्छिन्, ‘सफलता कस्तो हुँदो रैछ बल्ल थाहा पाएँ । फिल्ममा निभाएको मेरो भूमिकालाई दर्शकले निकै नै मन पराउनु भएको छ । निकै नै खुसी छु ।’
श्रीराम दाहालले निर्देशन गरेको फिल्म ‘लुकामारी’ मा कर्म र सुरविनासँगै सौगात मल्ल, रिस्ता बस्नेत लगायत कलाकारहरुको अभिनय रहेको छ । निर्माता भण्डारीका अनुसार अमेरिका, अष्ट्रेलिया लगायत मुलुकमा ‘लुकामारी’ रिलिजबारे कुराकानी हुँदैछ । ‘विदेशको टुंगो हामी चाँडै नै लगाउँछौं’ निर्माताले भने । नेपाल रिलिजमा ‘लुकामारी’ लाई दर्शकले रुचाएका छन् ।
For More videos Log on to Mazzako TV