दिपाश्री निरौला भन्छिन्, ‘फेसबुकले फेसनको आयु घटायो’
सेलिव्रेटी र फेसन एक अर्काका परिपुरक हुन् । सबैको नजरमा पर्ने सेलिव्रेटीलाई फरक फेसन गर्नुपर्ने बाध्यता हुन्छ । तर, हरेक दिन जसो आयोजना हुने कार्यक्रममा उपस्थिति जनाउँदा के फरक फेसन गर्न सम्भव होला ?
‘निकै गाह्रो छ’ एक नयाँ फेसन हाउसको उद्घाट गर्न पुगेकी अभिनेत्री दिपाश्री निरौलाले बाध्यता सुनाइन्, ‘झन् फेसबुक आएपछि त फेसनमा चुनौती नै थपिएको छ ।’ कसरी त ? ‘छक्का पञ्जा’ निर्देशक निरौलाले भनिन्, ‘फेसबुकमा फोटो अपलोड गर्ने वित्तिकै कपडाको आयु सकियो । नयाँ खोज्न थाल्नु पर्छ ।’ त्यस्तै आफ्नो ज्यानको साइज ठुलो भएका कारण पनि आफ्ना लागि लुगा छान्न कठिन हुने गरेको अनुभव दिपाले सुनाइन् ।
तर, नयाँ बानेश्वरमा खुलेको कान्तिपुर फेसन हाउसमा भने आफ्नो साइजका तयारी अवस्थाका कपडा पाएकोमा दिपाले खुसी व्यक्त गरिन् । यो फेसन हाउसको शुक्रबार दिपाले औपचारिक रुपमा उद्घाटन गरिन् । दिपासँगै नायक तथा गायक कोसिश क्षेत्री पनि उक्त फेसन हाउसको उद्घाटन कार्यक्रममा सरिक भए । अन्जना बोहोरा र सावित्री ढुंगानाले कान्तिपुर फेसन हाउसलाई सञ्चालनमा ल्याएका हुन् । तस्बिरहरु : कमल प्रसाईं