‘चपली हाईट २’ ले थाल्यो प्रचार : निर्देशक खनालले गरे नव नायकको बखान
छायाँकन सकेर सम्पादनको टेबुलमा रहेको फिल्म ‘चपली हाईट २’ ले प्रचार प्रसार सुरु गरेको छ । भदौ २ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म टिमले २ महिना अगाडीदेखि प्रचार सुरु गरेको हो ।

क्यूज हलका सञ्चालक सुमित मैनालीले सञ्चालन गरेको ओइसिस क्याफेको दशौं वार्षिक उत्सवको अवसरमा ‘चपली हाईट २’ टिमले मिडियासँग अन्र्तक्रिया गरेको हो । निर्देशक दिपेन्द्र के.खनाल, निर्माता अर्जुन कुमार पोखरेल र नव नायक आयुष्मान देशराजले मिडियासँग अन्र्तक्रिया गरे ।

मिडियासँगको अन्र्तक्रियामा निर्देशक खनालले नव नायक देशराजको औधी प्रशंसा गरे । यसअघिको फिल्म ‘पशुपती प्रसाद’ बाट प्रशंसा बटुलेका निर्देशक खनालले नव नायकबारे भने, ‘नेपाली फिल्ममा एउटा कुशल नव नायकको प्रवेश भएको छ । आयुष्मान हरेक कोणबाट परिपक्व छ ।’

यता आयुष्मानले पनि पहिलो फिल्ममा आफुले एक सय दश प्रतिशत दिएको बताए । उनले भने, ‘मिहेनत गरेको छु । बाँकी दर्शकको हातमा छ ।’ यस्तै निर्माता अर्जुन कुमार श्रेष्ठले ‘चपली हाईट २’ को लगानी प्रदर्शन अगावै सुरक्षित भैसकेको बताए । फिल्मकर्मी र सञ्चारकर्मीबिच केक काटेर अध्यक्ष मैनालीले ओइसिस क्याफेको दशैं वार्षिक उत्सव मनाएका थिए ।









