‘हामी उठ्ने छौं’ द्धारा हिमाल बचाउन ५ देशलाई चट्टान हस्तान्तरण
भूकम्प पश्चात स्थापना भएको ‘हामी उठ्ने छौं’ फाउन्डेशनले हिमाल बचाउ अभियानमा समर्थन जुटाउन पाँच देशका प्रमुखलाई हिमालको चट्टान हस्तान्तरण गरेको छ ।


मंगलबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै उक्त फाउन्डेशनले युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलको हातबाट सगरमाथाको चुचुरोबाट ल्याइएको चट्टान सम्बन्धित पाँच देश अमेरिका, चीन, बेलायत, फ्रान्स र रसियाका प्रमुखलाई हस्तान्तरण गर्यो ।

यो सँगै ‘हामी उठ्ने छौं’ फाउण्डेशनले विश्वको सर्वोच्च शिखर सगरमाथामा विभिन्न किर्तिमानी कायम गर्ने ३२ जना आरोहीलाई सम्मान पनि गर्यो । सबैभन्दा बढी पटक सगरमाथाको आरोहण गर्ने नेपाली आक्पा शेर्पादेखि कम उमेरका आरोही पेम्बा छिरि शेर्पा अनि धेरै पटक सगरमाथा आरोहण गर्ने महिला आरोही (नेपाली) लक्पा शेर्पा कार्यक्रममा सम्मान ग्रहण गर्न उपस्थित थिए ।

सम्मान कार्यक्रममा अभिनेता राजेश हमाल, सरोज खनाल, गायिका तथा सञ्चारकर्मी कोमल वली, गायक राजेश पायल राई, कलाकार जितु नेपाल, गायिका मिलन अमात्य लगायत सहभागी थिए ।












