‘प्रेम गीत’ बिक्यो बिदेशमा, तर कतिमा ?
आशुसेन फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘प्रेम गीत’को ओभरसिज राईट्स बिक्री भएको छ । आज राजधानीमा एक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै चलचित्रको विदेश प्रर्दशन अधिकार बिक्री भएको जानकारी गराईयो । ‘रनवे फेसन हाँउस’ले ३० लाखमा सिंगापुर, मलेशिया, थाईल्याण्ड, अष्ट्रेलिया, पोर्चुगल, न्यूजिल्याण्ड, यएई, कतार, बहराईन, ओमान, कोरिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, नर्वे, भारत र युकेको राईट किनेको हो ।
तर, अमेरिका, जापान, सहित अष्ट्रेलिया, युके, हङकङ, भारत र युरोपका केही ठाँउहरुमा भने अशुसेन फिल्मस्ले नै चलचित्रको प्रर्दशन गर्नेछ । यसअघि फेसन सँग सम्बन्धित रहेको इभेन्ट मेनेजमेन्ट गर्दै आएको रनवे फेसन हाउसले यही चलचित्रबाट औपचरिक रुपमा सिनेमाको विदेश प्रर्दशन अधिकार किन्न शुरु गरेको छ ।
‘अब नियमित रुपमा राम्रा चलचित्रहरुको विदेश राईट हामी किन्ने छौं’, रनवे फेसनका अध्यक्ष सुवास सिंह ठकुरीले भने, ‘हामी पुरै विदेशको राईट किन्ने भएकाले निर्मातालाई छुट्टा छुट्टै देशमा सिनेमाको डिल गर्नु पर्ने झन्झट कम हुन्छ भने संस्थागत रुपमा ब्यापार गर्न पनि सजिलो हुन्छ ।’ यता, चलचित्रका निर्माता सन्तोस सेन आगामी चलचित्रहरुमा पनि रनवेसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिक्रिया दिन्छन् ।
चलचित्रले राम्रो ब्यापार गरेता पनि लगानी उच्च भएका कारण यो सिनेमाबाट निर्माताले नाफा कमाउन पाएनन् । नेपाल र विदेशको राईटस् गरेर मात्र उनी ‘सेफसाईड’ हुने देखिन्छ । नेपालबाट आफ्नो हातमा ८० देखि ९० लाख पर्ने बताएका सन्तोसले चलचित्रको लगानी एक करोड ६० लाख रहेको पत्रकारहरु माझ जानकारी गराए । ३० लाख रनवेबाट आउने भएपछि बाँकी ४० देखि ५० लाख भने आफै विदेशमा सिनेमा देखाएर उठाउनु पर्ने हुन्छ ।
सुर्दशन थापा निर्देशित सिनेमा ‘प्रेम गीत’ अझै पनि केही सिनेमा हलहरुमा चलिईरहेको छ । चलचित्रमा पुजा शर्मा, प्रदिप खड्का, लक्ष्मी गिरी, सरोज खनाल, रुपा राणा, राजाराम पौडेल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV