‘परदेशी’को सक्सेस पार्टी, सहयोगीहरुलाई बाँडियो मायाको चिनो
मज्जाको अनलाईन, पुष २० गते, सोमबार, २०७२, काठमाण्डौं ।
चलचित्रहरुले ५१ दिन मनायो रे, ७५ दिन मनायो रे, १०० दिन मनायो रे भन्ने कुरा इतिहास भईरहेको बेला चलचित्र परदेशीले भने प्रर्दशनको ७५ औं दिनको सफलताको स्वाद चाखेको छ । आईतबार राजधानीमा चलचित्र युनिटले सिनेमा प्रर्दशनको ७५ औं दिन पुगेको उपलक्ष्यमा सक्सेस पार्टी गरेको छ ।

सक्सेस पार्टीमा चलचित्र ‘परदेशी’सँग सम्बन्धित रहेका कलाकार, प्राविधिक तथा पत्रकार, हलवाला र वितरकलाई समेत मायाको चिनो प्रदान गरियो ।

यसवर्षको सुपरहिट फिल्म मध्येको एक यो सिनेमा राजधानीका गोपीकृष्ण, गुण र अष्ट नारायण र पोखरामा फिल्म आठौं हप्तामा चलिरहेको छ । चलचित्रको सफलताले नेपाली मेकरहरुलाई मौलिक नेपाली चलचित्र प्रति आशा जगाईदिएको कार्यक्रममा बक्ताहरुले बताए ।

कानुनविद भिमार्जुन आचार्यले आफुले यो सिनेमा धेरै पटक हेरेको जानकारी गराए भने चलचित्र युनिटलाई विकास बोर्ड अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र निर्माता छविराज ओझा लगायतले बधाई तथा शुभकामना ब्यक्त गरे ।

राजेश वंशलले निर्माण गरेको यो सिनेमाले अहिलेसम्म पाँच करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको बताइएको छ । चलचित्रलाई नायारण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रशान्त तामांग, रजनी केसी, नरेन खड्का, केशव भट्टराई, सुनिल पोख्रेल लगायतको मुख्य भुमिका रहेको छ ।











