आफ्नो छैन, अरुले दिएकाले चिसो थेगेन : भूकम्प पिडित
- गोकर्ण भण्डारी
नाम्दु (दोलखा) । दोलखाको नाम्दु गाविस वडा नं ३ खनियाखर्कका ४८ वर्षीय केशव घिमिरेको केही दिनअघि निधन भयो । पुसको चिसोलाई थेग्न नसकेपछि पुसको जाडो र गरिबी नै उनको मृत्युको कारक बन्यो । दोलखामा कठ्याङ्ग्रिएर मर्ने उनी १४औँ व्यक्ति हुन् ।
भूकम्पमा घर भत्किएर घाइते भएका घिमिरे त्रिपालको अस्थायी टहरामा थलिएर बसेका थिए । आफ्नो घरमा पर्याप्तमात्रामा ओढ्ने र ओछ्याउने लुगा नभएपछि छिमेकीले दिएको कपडाको भरमा चिसोमा काम्दै रात र दैनिकी काट्दै आएका आफ्ना छोरा अन्तिममा चिसोले नै आफूहरुबाट छुट्याएर लगेको मृतकका बाबु ८५ वर्षीय महेश्वर घिमिरेले दुखेसो पोखे । मृतकका बुबा महेश्वर भन्छन, ‘हामी आमा बुबा वृद्धवृद्धा छौँ । हामीलाई पाल्ने बेलामा छोराको मृत्यु भयो । घर लड्यो अब यी नातिनातिनाको बिजोग हुने भयो । कसरी पालनपोषण गर्ने हो ?’

Repesentative Image
आर्थिक अवस्था कमजोर भएपछि मृतकका जेठी छोरी सन्तोषी राजधानीमै अरुको घरमा काम गर्दै पढ्दै आएका छन् । माइली छोरी सली घिमिरे मावलमा बसेर पढ्दै छन् । छोरा सरोज र सविना भने गाउँमै रहेको विद्यालयमा पढ्दै आएको मृतककी श्रीमती निता घिमिरेले बताए ।
छोराछोरीको उमेर क्रमशः १४, ११, १० र ८ वर्षका रहेका छन् । बुबाको निधनपछि भाइबहिनी, हजुरबा, हजुरआमा र आमाको हेरविचार गर्न आफूहरुलाई समस्या परेको मृतकका जेठी छोरी सन्तोषीले गुनासो गरिन् ।
घर भत्किएर पालमा बस्दै आएका घिमिरेका परिवारलाई छिमेकीले ओढ्ने ओछ्याउने दिएर आश्रय दिँदै आएको छिमेकी सोमप्रसाद घिमिरेको भनाइ छ । आफ्नो घर नजिकैको परिवार चिसोबाट छट्पटिएको देखेपछि आफूहरुले सक्दो सहयोग गरेको घिमिरेले जानकारी दिए ।
आम्दानीको स्रोत नभएको र गरिखाने जग्गा जमिनसमेत थोरै हुँदा ऋण गरेर बनाएको घर पनि भत्किएपछि मृतकका परिवार विचल्लीमा परेका हुन् । ‘सरकारले दिएको रु १५ हजार जोगाएर राखेका थियौँ, छोराको काजकिरियामा सकिने भयो,’ बुबा महेश्वर भन्छन, ‘अरु कुनै आउने ठाउँ छैन । यी नातिनातिना कसले पालनपोषण गरिदेला ? ‘
अहिले मृतकका १० वर्षीय छोरा सरोज र श्रीमती निता धार्मिक संस्कारअनुसार काजकिरिया गर्न कोरा बारेर बसेका छन् ।
For More videos Log on to Mazzako TV







