FFMT: प्रधानमन्त्रीको हातबाट अडियो लञ्च, दिनेशले देखाए पावर (भिडियो सहित)
मज्जाको अनलाईन, पुष १३ गते, सोमबार,२०७२, काठमाण्डौं ।
दिनेश डिसी निर्देशित चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ (FFMT) को अडियो लञ्च गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बिषेश कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट चलचित्रको गीति अडियो र भिडियो सार्वजनिक गरियो ।

तीन दलिय बैठकको ब्यस्त सेड्युलका बाबजुत पनि प्रधानमन्त्रीले चलचित्र युनिटलाई समय दिए । उनले चलचित्रलाई सफल्ताको शुभकामना मात्र दिएनन्, आफु पनि पैसा तिरेरै पहिलो शो मै सिनेमा हेर्ने बताए । उनले चलचित्रका निर्देशक तर्फ हेर्दै भने, ‘मलाई फागुन २१ का लागि सिनेमाको १० वटा टिकट चाहियो’ । प्रधानमन्त्रीले यति भनेपछि त अरु के चाहियो र ? निर्देशक डिसी निकै हर्षित देखिए ।

चलचित्रको म्युजिक लञ्चको बिशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रीमतीलाई गुलाबको फुल दिएर फूलैफूलको मौसम तिमीलाई भन्न समेत भ्याए । त्यस्तै उनले अन्र्तराष्ट्रिय स्तरको अत्यन्तै सुविधा सम्पन्न फिल्म सिटी गोरखाको दक्षिण पश्चिम, तनहुँको पुर्वी, लमजुङको दक्षिणतिर र मस्र्याङ्दीको किनारमा बनाउने आफ्नो चाहना रहेको पनि सुनाए ।

‘हिरोसँग साह्रै रिस उठेको बेलामा हिरोइनलाई खोलामा गएर हाम फाल्ने ठाउँ हुनुपर्छ । हिरोले हिरोइनलाई बचाउनु पर्दा त्यहाँ पुल चाहियो । गाडीमा माइत हिंडे भन्नलाई बाटो चाहियो’, प्रधानमन्त्री ओलीले भने, ‘दोलखाको डाँडाँमा दुई दिन दुई घण्टा घाम लाग्छ अनि त्यहाँ कसरी फिल्म सिटी बनाउने ?’, उनले दोलखाको डाडाँमा फिल्म सिटी बनाउने कुरालाई निकै घुमाउरो पारामा व्याङ्ग्य गर्न समेत भ्याए । प्रधानमन्त्री ओलीको व्याङ्ग्य वाणको प्रहारसँगै हाँसोले गुञ्जायमान भएको कार्यक्रम हलमा चलचित्रको गीतको भने निकै चर्चा भयो । गायक राजेश पायल राईले गीति भिडियो मेकिङ्गको स्तरले आफु निकै खुशी भएको प्रतिक्रिया दिए ।

कार्यक्रममा उपस्थित रहेका निता ढुंगाना र उनका प्रेमी तथा चलचित्रका नायक आमोश भण्डारीले दिनेश डिसीसँग काम गर्न पाउदा निकै खुशी लागेको प्रतिक्रिया दिए । माया प्रेमको उत्कृष्ट कथा प्रस्तुत गर्ने भनिएको यस चलचित्रको प्रचार प्रसार कार्यक्रमलाई एउटा अभियानकै रुपमा लैजाने निर्देशक डिसीले जानकारी गराएका छन् । चलचित्र फागुन २१ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउनेछ ।

Watch Trailer Here :-
For More videos Log on to Mazzako TV








