प्रर्दशनको संघारमा ‘चकलेट’को ‘थ्याङ्स गिभिङ’ (फोटो फिचर)
मज्जाको अनलाईन, मंसीर १४ गते, सोमबार, २०७२, काठमाण्डौं ।
सडक बालबालिकाहरुको कथालाई उठान गरिएको चलचित्र ‘चकलेट’ले आज राजधानीमा ‘थ्याङ्स गिभिङ’को कार्यक्रम अयोजना गरेको छ । चलचित्रलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनका लागि अयोजना गरिएको कार्यक्रममा चलचित्रका बारेमा विभिन्न कुराहरु पनि जानकारी गराईयो ।

निर्मल शर्माले निर्देशन गरेको तथा नायिका पूजना प्रधानले निर्माण गरेको चलचित्र ‘चकलेट’ अगामी शुक्रबार अर्थात मंसिर १८ गते देखि अलनेपाल प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रर्दशनबाट उठेको पैसाले असहाय बालबालिकाको लागि घर निर्माण गरिनेछ । ‘पचास जना बच्चाहरुलाई बस्ने, खाने र पढ्ने सुविधा सहितको कटेज निर्माण गर्ने हाम्रो लक्ष्य हो’, निर्मात्री प्रधानले भनिन् ‘ब्यबसायिक लक्ष्य नभएर बच्चाहरुको मुहारमा मिठास ल्याउनको लगि चकलेट बनाएको हुँ ।’

कार्यक्रममा यति डेभ्लपमेन्ट बैङ्कले भवन निर्माणको लागि पूजना लाई सहयोग स्वरुप पच्चीस पच्चीस हजार रुपैयाँ हस्तान्तरण गर्यो भने चलचित्रका कालकार डा. आयुषमान घिमिरेले पनि पच्चीस हजार दिने उद्घोष गरे ।

कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायतले चलचित्रलाई सफलताको शुभकामना दिए । सबैको माया र प्रेमले आफु यो स्थानसम्म आएको बताउदै चलचित्रका निर्देशक निर्मलले आफ्नो पहिलो निर्देशकीय प्रयासलाई एकचोटी हेरेर सुझाव दिन पनि अनुरोध गरे । उनले आफुलाई फिल्म निर्देशनमा विश्वास गरेकोमा पूजना प्रति पनि कृतज्ञता प्रकट गरे ।

चलचित्र ‘चकलेट’मा पूजना र आयुष्मानका अलावा केशव भट्टराई, नम्रता झा, सुमन गैरे, सुनिता ठाकुर, सहित नौ जना बालकलाकारहरुको मख्य भुमिका रहेको छ ।










