एमाओवादीबाट दुई नेता निष्कासित, अरुलाई स्पष्टीकरण सोध्ने
मज्जाको अनलाइन,कार्तिक १८, बुधवार, २०७२, काठमाडौं ।
एमाओवादीले पार्टी अनुशासनविपरीत गतिविधि सञ्चालन गरेको भन्दै दुई केन्द्रीय नेतालाई पार्टीलाई निष्कासन गरेको छ ।
पार्टीले सोधेको स्पष्टीकरण समेत नबुझाई निरन्तर पार्टी अनुशासनविपरीत काम गरेको भन्दै बुधबार बिहान बसेको एमाओवादी स्थायी समिति बैठकले दुई केन्द्रीय सदस्य रामरिझन यादव र गंगानारायण श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले पार्टी अनुशासनविपरीत काम गर्दै हिँड्ने दुई केन्द्रीय सदस्यलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी एमाओवादीले मंगलबार पार्टीलाई असहमति पत्र बुझाउने स्थायी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।
मंगलबार पूर्व एमाओवादी नेता बाबुराम भट्टराई पक्षधर ४५ नेताले असहमति पत्र बुझाएका थिए । ४५ को सूचीमा यादव र श्रेष्ठको पनि नाम थियो
एमाओवादीले मंगलबार पार्टीलाई असहमति पत्र बुझाएकाहरुसँग स्पष्टीकरण सोध्ने र आत्मालोचित भएर पार्टीमा फर्कन आह्वान गर्ने निर्णय पनि गरेको छ ।
For More videos Log on to Mazzako TV







