सत्तारुढ दलबाट उपराष्ट्रपतिमा पासाङको उम्मेदवारी
मज्जाको अनलाईन, कार्तिक १३ गते, शुक्रवार, २०७२, काठमाडौं ।
एकीकृत नेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्द किश्वर पुन पासाङले उपराष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पुगेर उहाँले आज दिउँसो १२ः४५ बजे उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उनको प्रस्तावकमा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का प्रमुख सचेतक दिलनाथ गिरी रहेका छन् ।
तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहेका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित भएका थिए ।
राङसी–९ रोल्पा जिल्लाका स्थायी बासिन्दा पुनको उम्मेदवारी दर्ता गराउँदा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव कृष्णबहादुर महरा, तथा एमाले, एमाओवादी र सत्ता गठबन्धनमा रहेका दलका नेता एवं सांसदहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रलाई एकताबद्ध गर्ने प्रतिबद्धता
नयाँ संविधानको कार्यान्वयन, पालना, संरक्षणका साथै राष्ट्रलाई एकताबद्ध गर्न आवश्यक देखेर आफूले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको उनले बताए ।
आफूलाई उपराष्ट्रपति पदको उम्मेदवार सिफारिस गर्न दवाव दिएर पार्टीलाई अप्ठेरोमा पारेको भन्ने सञ्चारकर्मीको प्रश्नको उनले खण्डन गरे । उनले भने, ‘पार्टीमा मैले कुनै बाध्यतात्मक अवस्था सिर्जना गरेको छैन । पार्टीले एकमतले निर्णय गरेर पठाएको छ ।’
For More videos Log on to Mazzako TV







