सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न समिति
For More videos Log on to Mazzako TVमज्जाको अनलाइन, कार्तिक ७ गते, शनिवार, २०७२, काठमाडौं ।
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन भएको छ ।
मस्यौदा समितिमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, एकीकृत नेकपा (माओवादी)का तर्फबाट स्थायी समिति सदस्य वर्षमान पुन, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का तर्फबाट उपाध्यक्ष जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य सुरेश आचार्य रहेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सत्तासाझेदार दलका शीर्ष नेता सम्मिलित बैठकले सो समिति गठन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालको उपस्थितिमा बसेको सो बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा दलबीच प्रारम्भिक चरणमा छलफल समेत गरेको बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई जानकारी दिए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको यही कात्तिक ३ गते बसेको बैठकको निर्णयानुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न समिति गठन भएको हो । बैठकमा प्रधानमन्त्री ओली र संयोजक दाहालले न्यूनतम साझा कार्यक्रमका बारेमा नीतिगत निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
दाहालका अनुसार मस्यौदा समितिले कार्यक्रमको मस्यौदा तयार पारी बैठकमा प्रस्तुत गर्नेछ । मस्यौदा समितिको बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ ।
नयाँ सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा सुशासन, भूकम्पपीडितलाई थप राहत, पुनःनिर्माण तथा आपूर्ति व्यवस्थालाई सहज बनाउने रहने वरिष्ठ नेता खनालले जानकारी दिए ।









