एमाओवादी गुन्डु कमिटी एमालेमा समाहित
मज्जाको अनलाईन, कार्तिक ३ गते, मंगलवार, २०७२,भक्तपुर।
एकीकृत नेकपा माओवादी गुन्डु कमिटी नेकपा(एमाले)मा आज समाहित भएको छ ।
एमाले गाउँ कमिटी गुण्डुले आयोजना गरेको कार्यक्रममा एमाओवादी गुन्डु कमिटीका अध्यक्ष पुष्पकुमार कार्कीको नेतृत्वमा कमिटीका पदाधिकारीसहित
२८ जनाले एमाओवादीको गाउँ कमिटी कार्यालय, पार्टीको लेटर प्याड तथा छाप र सम्पूर्ण कागजपत्र बुझाएर पार्टी प्रवेश गरेको घोषणा गरेका हुन् ।
कार्यक्रममा पूर्वउद्योगमन्त्री महेश बस्नेतले एमाओवादीबाट एमालेमा आउनेलाई टीका लगाएर खादा ओढाएका थिए भने अनन्तलिङ्गेश्वर एमाले नगर कमिटीका अध्यक्ष भाइकृष्ण श्रेष्ठले माला लगाइदिएर स्वागत गरेका थिए ।
सो अवसरमा नेता बस्नेतले एमाले र एमाओवादीबीच पार्टी एकीकरणको सुरुआत भएको जिकिर गर्दै यसले देशव्यापी सन्देश दिने बताए । बस्नेतले भने– “देशभरका कम्युनिस्ट एक हुनुपर्छ, एमाले र एमाओवादीको पार्टी एकीकरण गुन्डुबाट सुरुआत भएको छ ।”
नाकाबन्दी खुलाउन सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै उनले चीनसँगको नाका खुलाउन पनि सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
एमाओवादीबाट एमालेमा प्रवेश गरी पार्टी एकीकरणको घोषणा गर्दै कार्कीले एमालेसँग एमाओवादी एकीकरणको सुरुआत भएको बताए ।
For More videos Log on to Mazzako TV







