आक्रामक प्रचार प्रसारमा ‘वडा नम्बर ६’, शुरु भयो टोल टोलमा कन्सर्ट (भिडियो सहित)
मज्जाको अनलाईन, भदौ १९ गते, शनिवार, २०७२, काठमाण्डौं ।
असोज १ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’ ले प्रचार प्रचारलाई निकै ब्यापक बनाईरहेको छ । शनिवारबाट चलचित्र युनिटले काठमाण्डौंका विभिन्न चोकहरुमा कन्सर्ट पनि गर्न थालेको छ । कन्सर्टको शुभारम्भ बालाजुस्थित माछापोखरीबाट गरिएको हो ।
चलचित्रका मुख्य कलाकारहरु प्राय सबै हाँस्यकलाकारहरु भएकाले पनि कन्सर्टको माहोलले दर्शकलाई ‘वडा नम्बर ६’ प्रति ध्यानआकृष्ट गर्ने निर्माण युनिट बताउँछ । विहान करिब ९ बजेदेखि हजारौ दर्शकमाझ बालाजुमा प्रस्तुत भएको फिल्मको टोलीले विभिन्न कमेडी प्रहसन, हाँस्यब्यंग्य, नृत्य र गायनबाट दर्शकलाई भरपुर मनोरञ्जन दियो ।
कार्यक्रममा हास्यकलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल, केदार घिमिरे, रबि डंगोल, पुर्ण थापा, कविता शर्मा, राजा राजेन्द्र पोख्रेल, आर. पी. भट्टराई, संगीतकार राजनराज शिवाकोटी, कोरियोग्राफर शंकर बिसी, नृत्य समुह वि मानव आर्ट स्टुडियो लगायतले आफ्ना प्रस्तुती दिए ।
‘रमाईलो सँगै प्रोमोशनको स्ट्रेटिजीले दर्शकको मनमा चलचित्रका बारेमा राम्रो छाप छोड्न सकिन्छ भन्ने लाग्छ’, चलचित्रका निर्माता तथा नायक दिपकराज गिरीले मज्जाको अनलाईनसँग भने, ‘अब निरन्तर काठमाण्डौंका विभिन्न चोकहरुमा हामी यस्ता कार्यक्रमहरु गर्नेछौं’ । चलचित्र ‘वडा नम्बर ६’ को यतिबेला रेडियो, टेलिभिजन, अनलाईन देखि सिनेमा हलसम्म मात्रै नभएर गाईजात्रा भईरहेको ठाँउ प्रज्ञा प्रतिष्ठानसम्म पनि प्रोमोशनमा निकै ध्यान दिईएको छ ।
उज्जल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘वडा नम्बर ६’ मा निर्देशित फिल्ममा दिपकराज, जितु नेपाल, केदार, सिताराम, दयाहाङ राई र प्रियंका काकी लगायतको मुख्य भुमिका रहेको छ ।

















