‘आँटादेखि लोटासम्म ,लाल्टिनदेखि बाल्टिनसम्म’, राहत अभियानमा कलाकार
मज्जाको अनलाईन, बैशाख २३ गते, बुधबार, २०७२, काठमाण्डौं ।
अखिल भारतीय तेरापंथ युवक परिषदसँगको समन्वयमा नेपाली सिनेमाका कलकारहरु आज भक्तपुरको बागेश्वरी पुग्दा भुकम्प पिडिहरु निकै खुशी देखिए । उनीहरुले भुकम्पको पिडालाई पनि केहीक्षण भुले । बागेश्वरी पुगेका कलाकारहरुले रमाईलो ढंगमा सरसफाईको कुरा गरे, सबैलाई हँसाई हँसाई महामारी देखि सचेत रहन आग्रह गरे अनि राहत पनि बाँडे।

‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’, भन्ने नाराको साथमा बागेश्वरी पुगेका कलाकारहरुले बिपदको बेला चाहिने अत्यावश्यक सम्पुर्ण सामाग्रीहरु राहत बाँडेका छन् । । एक सय छब्बीस भुकम्प पिडित परिवारहरुलाई टेन्टमा बस्न चाहिने डाडु, पन्यु, पकाउने भाडाहरु, दाल, तेल, मैनबत्ती, ग्यासस्टोभ,ओछ्याउने म्याट्रेस, त्रिपाल लगायतका अन्य अत्यावश्यक सामग्रीसहितको प्याकेट आज बाडिएको हो ।

भारतबाटै आएका तेरापंथ युवक परिषदका पदाधिकारीहरुले पनि नेपाली कलाकारहरुको साथले गर्दा पिडितलाई राहतसँगै खुशी पनि दिन सफल भएकोमा नेपाली कलाकारहरुलाई धन्यवाद दिएका छन् ।

राहत वितरण कार्यक्रममा दिपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैडा, केदार घिमिरे माग्ने बुढा, दिलिप रायमाझी, रमेश उप्रेती, झरना थापा, किरण केसी, सुरेन्द्र केसी, सुनिल कुमार थापा, अनुरागमानसिंह कुवँर लगायतको उपस्थिती रहेको थियो ।

‘आटादेखि लोटासम्म, लाल्टिनदेखि बाल्टिनसम्म’, अभियान भोली र पर्सि पनि चल्ने यस अभियानका संयोजक बाबुराम दहालले जानकारी गराएका छन् । उनका अनुसार भोली र पर्सि यस्तै अर्को गाँउमा गएर राहतसँगै कलाकारहरुले महामारी बिरुद्ध जनचेतना फैलाउनेछन् ।

















