‘अब फिल्म लाईनबाट टाढा भएर सामान्य जीवन विताउछु’ : झरना बज्राचार्य
मज्जाको अनलाईन, चैत्र १२ गते, बिहिबार, २०७१, काठमाण्डौं ।

केही दिन अघिमात्र आफ्ना प्रेमी राहुल अग्रवालसँग बैवाहिक बन्धनमा बाधिएकी नायिका तथा मोडल झरना बज्राचार्यले अब आफु फिल्मलाईनबाट टाढा हुने बताएकी छिन् । बैवाहिक जीवनमा बाधिएपछिको जीवन फरक हुने भन्दै उनले अब पहिलेजस्तो सिनेमामा काम गर्ने अवस्थामा नरहेको प्रतिक्रिया दिईन् । सितापाईला स्थित उपासना महिला बचत तथा सहकारी संस्थाले बुधबार आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै नायिका बज्राचार्यले सो कुरा बताएकी हुन् ।
कार्यक्रममा संस्थाकी साधारण सदस्य समेत रहेकी नवविवाहिता नायिका झरनालाई संस्थाका सदस्यहरुले बधाई तथा शुभकामना ब्यक्त गर्दै विभिन्न जिज्ञासाहरु राखेका थिए । साढे तीन बर्ष लामो प्रेम सम्बन्धलाई मुर्त रुप दिदै विवाह बन्धनमा बाधिएकी नायिका बज्राचार्यले अब श्रीमानसँग मलेसियामै बस्ने संकेत गरिन् । झरनाका श्रीमान् राहुल रेष्टुरेन्ट ब्यवसायी हुन्, उनी भारतीय नागरिक हुन । राहुल मलेसियाको क्वालालापुरमा बसेर ब्यावसाय गर्दै आएका छन् । त्यसो त झरना पनि केही बर्षदेखि कहिले काठमाण्डौं त कहिले क्वालालाम्पुर बस्दै आएकी थिईन ।
नायिका बज्राचार्यले भनिन् ‘अब फिल्मलाईनबाट टाढा भएर सामान्य जीवन विताउछु’। नायिका बज्राचार्यले उपासना महिला सहकारीलाई स्थापनाकालदेखि नै विशेष सहयोग गर्दै आएकाले शुभकामना दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष अमरावती महर्जनले जानकारी गराईन । उक्त अवसरमा महिला शसक्तिकरणको प्रभावकारी माध्यम महिला सहकारी रहेको पनि नायिकाले बताएकी छिन् ।
For More videos Log on to Mazzako TV









