अष्ट्रेलिया पुगेर किन रोईन् दिपा ?
मज्जाको अनलाईन, फागुन २९ गते शुक्रबार, २०७१, काठमाण्डौं ।
कार्यक्रमको शिलशिलामा देश तथा विदेश घुमिईरहने हाँस्यकलाकर दिपाश्री निरौला यतिबेला अष्ट्रेलियामा छिन् । करिब एक महिनाको अष्ट्रेलिया टुरको लागि दिपकराज गिरी, केदार घिमिर माग्ने बुढा, विल्सन विक्रम राई तक्मे बुढा र पार्वती राईको साथमा गत मंगलबार साँझ उनी नेपालबाट अष्ट्रेलिया प्रस्थान गरेकी हुन् । विभिन्न ठाँउमा कार्यक्रमको शिलशिलामा पुग्दा ठाँउ अनुसार छुट्टा छुट्टै अनुभवहरु त कलाकारहरुले संगाल्छन नै । यस्तै क्रममा यसपालीको अष्ट्रेलिया भ्रमण निकै यादगार बन्यो दिपाको लागि । अष्ट्रेलिया पुगेपछि उनका आँखा रसाए, आँखाबाट आशु बग्यो, मन थाम्न सकिनन् अनि उनी रोईन् ।

उनी दु:खी भएर भने पक्कै पनि रोएकी होईनन् । अष्ट्रेलियावासी नेपाली दाजुभाई, दिदीबहिनीले आफुलाई दिएको मायाको अगाडी उनको मन थामिएन । ‘कार्यक्रम त आफ्नो ठाँउमा छदै छ तर यहाँ सात समुन्द्र पारी रहनुभएका हाम्रा दाजुभाई दिदी बहिनीले गर्नुभएको माया, देखाउनुभएको सत्कारले गर्दा आशु थाम्नै सकिन्’, दिपाले फोनमा भनिन् ‘देशबाट टाढा आएपछि नेपाली नेपाली बीचको माया झन गाढा बन्दो रहेछ, भगवान नै आए झै गर्नुभो, यो सबै देख्दा म त अचम्ममै परे’ ।

आज (मार्च १३ तारिक) अष्टेलियाको लन्सटनमा भएको कार्यक्रममा उपस्थित ५०० बढी दर्शकको माया र साथले दिपाको मनलाई छोएको उनले प्रतिक्रिया दिईन । कार्यक्रममा दिपक र दिपाश्री ले कमेडी ब्यंग्यसँगै नृत्य पनि प्रस्तुत गरेका थिए । साथमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ले पनि दर्शकलाई मज्जाले हसाए भने पार्वती राईको नृत्यको त कुरै नगरौं ।

अष्ट्रेलियाको सिड्नीबाट ९१२ किलोमिटर टाढा पर्ने लन्स्टनमा भएको कार्यक्रममा केटाकेटी युवायुवती देखि बृद्धवृद्धासम्मको उपस्थिती रहेको थियो ।

अष्ट्रेलिया पुगेको नेपाली कलाकारको टोलीले हिजो (मार्च १२ तारिक) होर्बाट मा कार्यक्रम गरेको थियो भने भोली (मार्च १४ ) बृषबेनमा कार्यक्रम गर्दैछन् । भोलीको कार्यक्रममा भने ‘तितो सत्य’ र ‘मेरी बाँस्सैका’ हाँस्यकलाकारहरुलाई गायिका कोमल वली र इन्दीरा जोशीले पनि साथ दिनेछन् । त्यस्तै यही टोलीले मार्च १९ मा सिड्नी र २२ मा मेलवर्नमा विशेष कार्यक्रम गर्नेछ ।









