शुरु हुने भो दयाहाङ र सौगातको ‘कबड्डी कबड्डी’ फागुन २५ बाट
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, फागुन ०९–
निश्चल बस्नेतको निर्माणमा बनेको यो वर्षको सुपरहिट फिल्म ‘कबड्डी’ को सिक्वेल ‘कबड्डी कबड्डी’ को छायांकन आउँदो फागुन २५ गतेबाट शुरु हुने भएको छ । राजधानीमा शनिवार एक कार्यक्रमका बिच निर्माणको औपचारिक घोषणा गर्दै फिल्मको विषयमा जानकारी दिइएको हो ।
कबड्डी खेल प्राय सीमा नाघिएपछि र आफ्नो समुहमा जबरजस्ती कोही छिरेपछि शुरु हुन्छ । गएको वैशाखमा रिलिज भएको पहिलो ‘कबड्डी’ मा प्रेमको सीमा नाघिएको थियो । तर अब निर्माण हुने यसको सिक्वेलमा भने जबरजस्ती प्रेममा राजनीति घुस्ने छ । निर्माण पक्षका अनुसार ‘कबड्डी कबड्डी’ प्रेम र राजनीतिको भिडन्त हो ।
९५ प्रतिशत दृश्य मुस्ताङमा खिचिने यो फिल्मलाई पनि पहिलो कबड्डीका निर्देशक रामबाबु गुरुङले नै निर्देशन गर्ने भएका छन् । फिल्मको कथा पनि रामबाबुले लेखक उपेन्द्र सुब्बासंग मिलेर सँयुक्त रुपमा लेखेका हुन् । यो फिल्ममा प्रायजसो कबड्डीका सबै कलाकार दोहोरिने भएका छन् । यसअघिका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङसंगै यो पटक सौगात मल्ल पनि मुख्य भुमिकामा देखिने भएका छन् ।
पुरुषोत्तम प्रधानको समय नमिलेपछि यो पटक भने फिल्मलाई शैलेन्द्र डि कार्कीले खिच्ने समेत कार्यक्रममा जानकारी दिइएको छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्धन्द, रोहित शाक्यको पाश्र्व संगीत रहनेछ । सुनीलचन्द्र रौनियार र रौनकविक्रम कँडेल निर्माता रहने यो फिल्मका कार्यकारी निर्माता भने निश्चल बस्नेत नै रहनेछन् ।
For More videos Log on to Mazzako TV