‘अझै पनि’ ले पायो युनिभर्सल सटिफिकेट, अब हुन्छ फागुन १५ मा भेट
मज्जाको अनलाईन समाचार, काठमाण्डौं ।
फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ले युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार साँझ चलचित्र जाँचपास समितीले स्व. आलोक नेम्वाङ् निर्देशित अन्तिम यस चलचित्रका सबै दृश्यलाई मान्यता दिँदै यूनिभर्सल बनाएको हो ।
नारीको गहना सिन्दुर-पोतेको महत्व तथा युवा-युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताईन् । अर्का निर्माता तथा नायक सुदर्शन थापाले यो चलचित्र नेपालीको लागी अति नै मिठो उपहार रहेको बताए ।
यसअघि ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता चलचित्र निर्देशन गरेर ख्याती कमाईसकेका सुदर्शन थापाको अभिनय रहेको यो पहिलो चलचित्र हो । सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका लेखक रामशरण पाठक हुन् ।
राजेश श्रेष्ठको छायांकन रहेको ‘अझै पनि’का सम्पादक प्रितम पाण्डे हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।यता चलचित्र विकास बोर्डको प्रतिनिधित्व गर्दै ‘अझै पनि’ को सेन्सरमा सहभागी भएका सुरेश दर्पण पोखरेलले फिल्मको खुलेर तारिफ गरेका छन् । स्टाटस नै लेखेर उनले ‘यस्तो पो नेपाली फिल्म’ भनेर तारिफ गरेका हुन् ।