थैली हरायो , दिपाश्रीलाई तनाव !
मज्जाको अनलाईन समाचार, माघ १९ गते, सोमबार
पटुकीमा शुर्केको थैली हराएर दिपाश्री निरौलालाई तनाव । उनले सबैलाई सोधिन ‘थैली खै ?’, ‘पटुकीमा शुर्केको थैली खै’ भन्दै दिपाश्रीले सोधिईरहदा नायिका प्रियंकालाई पनि त्यस्तै समस्या परेको रहेछ । उनले पनि दिपासँगै स्वरमा स्वर मिलाउदै पटुकीमा शुर्केको थैली खेज्न लागिन् । उनीहरुको प्रश्नको जवाफ गिति शैलीमा दिदै थिए दिपकराज गिरी, जितु नेपाल ‘मुन्द्रे’, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’ र दयाहाङ्घ राई । थैली भेटिएलाकी जस्तो हुन लाग्थ्यो यताबाट शंकर बिसी भन्न भ्याईहाल्थे ‘कट’ ।
‘पटुकीमा शुर्केको शुर्के थैली खै’ बोलको चलचित्र ‘वडा नम्बर ६’ को गीतको छायांकनमा देखिएको दृश्य हो यो । निकै रमाईलो ढंगमा सोमबार काठमाण्डौं मुलपानीको चौरमा गीतको छायांकन गरियो । चलचित्रको सबै सुटिङ्ग सकिएपनि एक गीतको छायांकन बाँकी रहेकाले आज गीतको सुटिङ्ग गरिएको हो । निकै रमाईलो लाग्ने यस गीतमा राजनराज शिवाकोटी, राजु विश्वकर्मा र अन्जु पन्तको आवाज रहेको छ । गीतको मर्मअनुसार हेर्दा ‘टिपिकल’ देखाउन सुटिङ्गमा कोरियोग्राफर शंकर बिसीले पनि निकै मेहनत गरेको देखियो ।
गीतमा नाच्नु परेकाले चलचित्रमा मुख्य भुमिकामा देखा पर्ने हाँस्यकलाकारहरु निकै थाकेको देखिन्थे । तर, हाँस्यकलाकार दिपाश्री निरौला भने १६ बर्षपछि चलचित्रको पर्दामा नाच्न पाएकोले होला निकै उत्साहित देखिन्थिन । दर्शकले हेर्दा राम्रो देखियोस भनेर उनी थप मेहनत गरिरहेकी थिईन । दिपाले १६ बर्षअघि चलचित्र ‘सुकुम्बासी’को घिनघिन मादल घन्कियो बोलको गीतमा कम्मर मर्काएकी थिईन ।
‘पहिलेजस्तो कम्मर मर्काउन त निकै गारो पो हुदो रहेछ त’, दिपाले भनिन्, ‘जे होस् गीत राम्रो बनेको छ दर्शकले मन पराउनुहुनेछ भन्नेमा ढुक्क देखिएकी छु’ । सँगै, उनले आफ्नी चलचित्रकी नायिका प्रियंकाको नृत्य र अभिनयको पनि खुबै प्रशंसा गरिन ।
प्रर्दशन मिति अझै सम्म पनि अनिश्चित रहेको चलचित्र ‘वडा नम्बर ६’ ले काठमाण्डौं बाहिरको प्रर्दशन बापत ३५ लाखको मिनिमम ग्यारेन्टी भने पाईसकेको छ । चलचित्रको अमेरिका, अष्ट्रेलिया, युरोपको राईट्स सम्झौता पनि यहि हप्ता हुन लागेको निर्मात्री तथा कलाकार दिपाश्री निरौला बताउछिन् ।
उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ मा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ्घ राई, प्रियंका कार्की, नीर शाह लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको बिशेष भुमिकामा निर्मात्री दिपाश्री निरौला पनि देखा पर्दैछिन् ।
For More videos Log on to Mazzako TV