मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ १४ गते, बुधबार

पछिल्लो दुई बर्षयता नेपाली सिने वृतमा निकै चर्चा कमाउन सफल चलचित्र हो ‘झोला’ । चलचित्रले उठाएको बिषयबस्तु कहिल्यै बासी नलाग्ने भएर पनि होला चलचित्र ‘झोला’को चर्चा परिचर्चा झन चुलिने क्रममा छ । ब्यबसायिक रुपमा पनि सफल रहेको यस चलचित्रको यतिबेला काठमाण्डौंको साखु स्थित सालिनदीमा विशेष प्रर्दशन भईरहेको छ । स्वस्थानी ब्रत चल्दै गर्दा चलचित्रको निर्माण युनिटले सालिनदीमा ‘झोला’को विशेष प्रर्दशनी गरेको हो । दैनिक सयौंको संख्यामा महिला दिदीबहिनीहरुले चलचित्र हेरिरहेका छन् ।

jhola4

सय बर्ष पहिलेको नेपाली समाजलाई पर्दामा दुरुस्त देखाउन सफल भएकोमा चलचित्रका निर्देशक यादवकुमार भट्टराईको चलचित्रका दर्शकले प्रशंसा गरेका छन् । नेपाली माटोको नेपाली चलचित्र भएकाले पनि झोलाले मन छोएको अधिकांशले प्रतिक्रिया दिए ।

सती प्रथाको कुरितीमाथी बनेको चलचित्र ‘झोला’ साहित्यकार कृष्णधरावासीको झोला कृतिमाथी बनाईएको सिनेमा हो । सय बर्ष पहिलेको नेपाली समाजलाई देखाउन खोजिएको यस चलचित्रले देश तथा विदेशमा पनि निकै राम्रो प्रशंसा पाउन सफल भएको थियो । चलचित्रमा तत्कालीन समयमा महिलामाथी हुने हिंसा, महिलाले भोग्नुपरेको दुःख र ब्याथा अनि त्यसको प्रभावलाई देखाउन खोजिएको छ ।

jhola3

‘२१औं शताब्दीमा आईपुग्दा पनि नेपाली समाजमा महिला हिंसा अन्त्य नभएकाले चलचित्रको माध्यमबाट सचेतना फैलाउन पनि साली नदीमा चलचित्र प्रर्दशन गरेका हौं’, सबैको प्रशंसा पाएर मख्ख देखिएका निर्देशक भट्टराईले भने, ‘९० मिनेट लामो झोलामा कलाकारहरुको जिवन्त अभिनयका माध्यमबाट सबैको मनमा पस्न सफल भएकोमा निकै खुशी लागेको छ’ ।

सार्वजनिक प्रर्दशनको क्रममा हेर्न नपाएका दर्शकहरु गाडी रिजर्भ गरेरै चलचित्र हेर्न साली नदी पुगेको पनि पाईयो । महिलाहरुको हक अधिकारका क्षेत्रमा काम गर्दै आएका केही संस्थाहरुले समेत चलचित्रको प्रर्दशनको समन्वय गरिरहेका छन् ।

jhola1

राज तिमिल्सिना, मालती शाह, सुशिल शाह र रामगोपाल श्रेष्ठले मिलेर बनाएको चलचित्र झोलामा पतिको निधन पश्चात सती जानु परेकी एक महिलाको कथा समेटिएको छ । चलचित्रको शिर्ष भुमिकामा नायिका गरिमा पन्तले अभिनय गरेकी छिन् । चलचित्रका अन्य कलाकारहरुमा लक्ष्मी गिरी, दिपक क्षेत्री, देशभक्त खनाल, सुजल नेपाल लगायत छन् । नायिका गरिमा पन्त यही चलचित्रबाट धेरै अवार्डहरु जित्न समेत सफल भईन ।

For More videos Log on to Mazzako TV