माघीमा दर्शकको भिडले हल भरियो, निर्माताको लगानी सुरक्षित हुने देखियो !
मज्जाको अनलाईन समाचार, काठमाण्डौं, माघ ०२–
यो शुक्रबार मल्टिप्लेक्स लक्षित नम्रता श्रेष्ठको ‘‘सोल सिस्टर’ बाहेक कुनै पनि नेपाली फिल्म सार्वजनिक प्रदर्शनमा नआएपछि गत हप्तादेखि प्रदशर्नमा आएका तीन नेपाली फिल्म ‘तथास्तु’, ‘आभाष’ र ‘अलबिदा’ ले दोश्रो साताको प्रदशर्न यात्रा पक्का गरेका छन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने भनी प्रचार प्रसार समेत गरिएको फिल्म ‘‘इच्छा’ ले अन्तिम समयमा आएर प्रदर्शन मिति रोकेको थियो । माघे संक्रान्तिको छेको पारेर प्रदशर्न भएका तीन फिल्मको व्यापार भने कस्तो रह्यो त ? माघीमा दर्शकको साथ पायो ? आउनुस संक्षेपमा चर्चा गरौं ।
प्रदर्शनमा आएका तीन फिल्महरुमध्ये रेखा थापा स्टारर ‘तथास्तु’ को साप्ताहिक व्यापार माथि रह्यो । यद्पी निर्माण कम्पनी काइट्स इन्टरटेनमेन्टले ‘तथास्तु’ को कुल साप्ताहिक व्यापार सार्वजनिक गरेको छैन । विशेष गरि शुक्रवार र शनिवार सुखद् व्यापार गर्न सफल सबिर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ ले माघ १ गते माघीमा भने बम्परको व्यापार गरेको हलवाला तथा वितरकले दाबी गरेका छन् । मोफसल वितरक नरेन्द्र महर्जनले भने, ‘सुरुवातमा बन्द र हड्तालले हल नै खुल्न पाएको थिएन । बन्द खुलेसँगै माघीमा ‘तथास्तु’ ले बम्परको व्यापार गरेको छ ।’ काठमाण्डूमा पनि ‘‘तथास्तु’ को माघीमा हरेक हल हाउसफूल रहेको वितरक गोपाल कायस्थले बताए । निर्माता समेत रहेका निर्देशक सबिर श्रेष्ठले दोश्रो साताको व्यापारले फिल्मको लगानी उठ्ने विश्वास बढेको बताए । काठमाण्डू र मोफसल गरी ‘तथास्तु’ चालिस बढी पर्दामा दोश्रो सातामा प्रदर्शनरत छ । रामहरी धितालको समेत लगानी रहेको ‘तथास्तु’ मा रेखासँगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको अभिनय छ ।
यता ‘आभाष’ निर्माता एवं वितरक गोविन्द शाहीले पनि दोश्रो साताको व्यापारले लगानी उठ्ने आशा व्यक्त गरे । उनले भने, ‘फिल्म सर्बाधिक हलमा प्रदर्शनरत छ । दोश्रो सातामा लगानी उठ्छ ।’ उनले माघीमा ‘‘आभाष’ को देशका हरेक हल हाउसफूल रहेको दाबी गरे । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘आभाष’ मा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीको मुख्य भूमिका छ । भिजे आश्मा डिसीको ‘आभाष’ पहिलो फिल्म हो ।
दुई फिल्मको दाँजोमा फिल्म ‘अलबिदा’ को भने साप्ताहिक व्यापारिक रिपोर्ट निराशको रह्यो । आर्यन सिग्देल, अनिता आचार्य र निर्माता हसन खानको अभिनय रहेको यो फिल्मले अपेक्षा गरेभन्दा हलमा निकै न्यून दर्शकको साथ पायो । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलबिदा’ ले हल संख्या पनि दुई फिल्मको दाँजोमा निकै कम पाएको थियो । केही हलमा दोश्रो साताको प्रदर्शन यात्रा तय गरेको ‘अलबिदा’ को लगानी उठ्ने सम्भावना न्यून छ ।
For More videos Log on to Mazzako TV