मज्जाको अनलाईन समाचार, माघ २ गते, काठमाण्डौं

Rekha Thapa 1

चलचित्र प्रवेश गर्दा मैले भविष्यमा एक्सन पनि गर्न सक्छु भन्ने सोचेकी थिइनँ । थुप्रै चलचित्रमा नायकसँग गीतमा नाच्ने, रोमान्स गर्ने, पीडित नारी बनेर रुनेजस्ता चरित्र निर्वाह गरेपछि करियरमा केहि चेन्ज चाहिन्छ भन्ने लागिरहेको थियो ।

नायकप्रधान चलचित्र बन्ने हाम्रो चलचित्र क्षेत्रमा नायिका पनि नायकभन्दा वा नायकजत्तिको पावरफुल भैदिए कस्तो हुन्थ्यो होला भन्ने सोचिरहेको बेला निर्देशक सोभित बस्नेतले चलचित्र ‘दुर्गा’ को स्क्रिप्ट सुनाउनुभयो । उक्त स्क्रिप्टमा काम गर्न म तुरुन्तै तयार भएँ । मैले नायकसरह एक्सन गरेको त्यो पहिलो चलचित्र थियो, जसका लागि मैले द्वन्द्व कलाकारको पृष्ठभूमिबाट आएका अर्जुन कार्कीसँग केहि समय द्वन्द्वकलाको प्रशिक्षण लिएँ । उक्त चलचित्रका द्वन्द्व निर्देशक रामजनकले मेरो हिम्मत बढाउनुभयो । चलचित्र ‘दुर्गा’ ले व्यवसायिक सफलता पाएपछि म अझ हौसिएँ ।

 

Rekha Thapa 2
त्यसपछि आफ्नै ब्यानर तथा अरुका केहि ब्यानरमा पनि एक्सन दृश्यहरु गरेँ । चलचित्र ‘हिम्मत’ मा मैले बञ्जी जम्पलगायत दृश्य दिएँ । एक्सन दृश्यको छायांकनका क्रममा म धेरै पटक घाइते पनि भएकी छु । सानातिना चोटपटक त धेरै पटक लाग्यो । धेरै पटक डरलाग्दा दुर्घटनाबाट पनि जोगिएकी छु । ‘हिफाजत’ मा एक्सन गर्दा खुट्टा नै मर्कियो, अनि पहाडबाट घिस्रने झर्ने दृश्यमा ढाड नै खुइलियो । त्यहि चलचित्रमा पुलबाट हाम फाल्दा म एउटा ठूलो दुर्घटनाबाट जोगिएँ । निर्माणाधिन चलचित्र ‘जाउँ हिड पोखरा’ मा पनि मेरो खुट्टा मर्किएको थियो । ‘काली’, ‘किस्मत’, ‘हिम्मतवाली’ आदिमा पनि मैले एक्सन दृश्य दिएपछि मलाई माया गर्नेहरुले ‘एक्सन लेडि’ को उपाधि भिराएका छन् ।

अहिले ‘तथास्तु’ मा पनि मैले पुरुषको अत्याचार सहन नसकेपछि ज्वालामुखिझैं पड्केर त्यस्ता पुरुषलाई सखाप पार्ने नारीको भूमिका निर्वाह गरेकी छु । यो चलचित्रमा श्रीमान्बाट दिनहुँ पीडा खेपिरहेकी र उसको भोग विलासको साधान भएकी एउटी महिलाले पीडा सहन नसकेपछिको अवस्था चित्रण गरिएको छ ।

यो अनुभव सँगालिएकी हुन् नायिका रेखा थापाले ।

-कान्तिपुर साप्ताहिकबाट लिईएको

For More videos Log on to Mazzako TV