‘वडां नम्बर ६’ मा दयाहाङ्ग राई, अतिथि भुमिका विल्सनलाई
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २७ गते, बिहिबार
दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माले मिलेर निर्माण गर्ने दोश्रो चलचित्र ‘वडा नम्वर ६’ मा कलाकार दयाहाङ राई तानिएका छन् । उज्जवल घिमिरेले निर्देशन गर्ने यो चलचित्रमा दयाको महत्वपूर्ण भूमिका हुने निर्माता दिपकराज गिरीले जानकारी गराएका छन् । त्यस्तै चलचित्रमा मुख्य भुमिकामा देखा पर्ने भनि चर्चा गरिएका विल्सन विक्रम राई भने अतिथि भुमिकामा मात्रै सिनेमामा प्रस्तुत हुनेछन् ।

एउटै मितिमा सुरजसुब्बा नाल्बोले निर्देशन गर्ने फिल्मको छायाँकनमा व्यस्त हुने भएपछि ‘वडा नम्बर ६’ मा विल्सन अतिथि भूमिकामा मात्रै प्रस्तुत हुने निर्माता गिरीले बताए । ‘सौहार्दपूर्ण रुपमै विल्सनजीले हाम्रो फिल्ममा अतिथिको भूमिका निभाउने कुरा भएको हो’, निर्माता गिरीले भने, ‘ढुक्क हुनुहोस्, पहिलाको जस्तो होइन यसपाली, विल्सन आफैले समय दिन नसकेपछि अतिथि भूमिकामा खेल्न राजी हुनुभएको हो ।’ चलचित्र ‘६ एकान ६’ मा पनि विल्सन विक्रम राई अन्तिम चरणमा आएर बाहिरीएका थिए ।

फिल्म ‘वडा नम्वर ६’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ्ग राई, प्रियंका कार्की मुख्य भुमिकामा प्रस्तुत हुनेछन् । निर्मात्री दिपाश्री निर्रौलाको भूमिकालाई भने निर्माण युनिटले ‘सरप्राइज प्याकेज’ भनी खोल्न चाहेको छैन । ‘सिनेमामा वहाँको चमत्कारपुर्ण इन्ट्री हुन सक्छ’, दिपाको भुमिकाको बारेमा दिपकको जवाफ यस्तो छ । कलाकार दयाहाङ्ग सिनेमामा पनि ‘दया’ नाम गरेकै पात्रको रुपमा प्रस्तुत हुनेछन् ।
अभिमन्यू निरवीको लेखन रहेको फिल्म ‘वडा नम्वर ६’ को आउँदो मंसिर ८ गतेदेखि छायाँकन प्रारम्भ हुनेछ । पाँचखालबाट चलचित्रको सुटिङ्ग शुरु हुने निर्माण युनिटले जानकारी गराएको छ ।
For More videos Log on to Mazzako TV







