अनुभव आर्यन जीवन सौगात र दया, को होला पपुलर अभिनेता ?
‘अनलाइन फिल्मीखबर पपुलर अवार्ड २०७१’ को उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीलाई विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण गरिएको छ । प्रमाण वितरणसँगै ओफा अवार्डको दोश्रो संस्करणमा स्व.निर्देशक शिव रेग्मीलाई लाइभटाइम अचिभ्मेन्ट अवार्ड दिइने समेत घोषणा समेत गरिएको छ ।

उत्कृष्ट ५ को नामावलीमा बर्षका पपुलर अभिनेत्रीहरुमा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, गरिमा पन्त र रेखा थापा रहेको देखिन्छ । पपुलर अभिनेताको नोमिनेसनमा आर्यन सिग्देल, जीवन लुईटेल, सौगात मल्ल, दयाहाङ्ग राई र अनुभव रेग्मी परेका छन् ।

फिल्मीखबर डट कमको छैठौं बार्षिकउत्सवको अवसरमा आयोजना गर्न लागिएको ओफा अवार्ड जेठ २६ गते प्रज्ञा प्रतिष्ठानमा साँझ ३ बजेदेखि शुरु हुनेछ । अवार्डको दोस्रो संस्करणको रुपमा हुन लागेको यसपालीको अवार्डमा १७ प्रतिस्पर्धी र ३ अप्रतिस्पर्धी गरी जम्मा २० विधामा अवार्ड वितरण गरिनेछ । क्रिएटिभ अवार्ड, वेस्ट एक्जिविटर र लाईफटाईम अचिभमेन्ट अवार्ड अप्रतिस्पर्धी विधाका रुपमा रहेका छन् । ओफाको पहिलो संस्करणमा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘हास्य सम्राट’ को उपाधिले सम्मान गरिएको थियो ।

ओफा अवार्डको न्युज २४ सहित रेडियो अडियो काठमाण्डौं, बिग एफ एम पोखरा, कालिका एफ एम चितवन, पाथीभरा एफ एम दमक, दन्तकाली एफ एम धरान, रेडियो थाहा सञ्चार हेटौडा, रेडियो हिमाल नेपालगञ्ज, रेडियो मध्यपश्चिम दाङ्गले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

अवार्डमा विभिन्न आर्कषक प्रस्तुती रहने पनि जानकारी गराईएको छ । ‘नाईं नभन्नू २’ को बाल जोडी अनुभव रेग्मी र सुज्ञानी भट्टराई, ‘नाईं नभन्नू ल २’ कै नव अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता यशराज गराच एवं अभिनेत्री प्रियंका कार्कीको आर्कषक सोलो नृत्यलाई ओफामा देख्न पाईनेछ ।











