-नायिका रजनीले गरिन् बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन -आफन्त गुमाउनुको पीडामा पनि पीडितको सहयोगमा रजनी -काठमाडौंबाट डाक्टर लगेर रजनीले गराइन बाढी पीडितको स्वास्थ्य जाँच काठमाडौं,१९ भदौ । अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका साथै आबश्यक औषधी बितरण गरिन् । फार्मेसिस्ट समेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरुको उद्धार,राहत संकलन तथा बितरणमा खटिएकी छिन् ।

पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजीत शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन । स्वास्थ्य सिबिरका साथ पीडितहरुलाई खाध्य सामाग्री,लुगा,सरसफाइका सामान तथा बालबालिकाहरुलाई कापी,पेन्सील,किताब,ड्रोइङ्ग बुक साथै मनोबैज्ञानिक उपचार स्वरुप खेल्ने सामाग्रीहरु बितरण गरिएको उनले जानकारी दिइन । नुवाकोट टुप्चेकी स्थायी रजनी भदौ १० गते आएको बिनाशकारी बाढीपछि हराएकाहरुको उद्दार र राहतका लागि निकै खटिएकी थिइन । बाढीका कारण सोले बजारबाट आफ्नो मावली हजुर आमा,माइजू,भाइ,बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको निरन्तरको प्रयासबाट केही पीडितहरुको उद्दार सफल भएको थियो ।

आफन्तहरु गुमाउनुको पीडाका बाबजुत पनि उद्दार र राहतमा खटिइरहेकी उनले स्थानीय आशीष रिजाललगायतका सहयोगीहरुको साथले अत्यन्तै प्रभाबित उक्त स्थानमा सिबिर संचालन गर्न सम्भव भएको बताइन । उनले बाढीबाट पीडित थुप्रैले अझैसम्म अत्यावश्यक राहत सामाग्री,औषधि उपचार नपाएको देख्दा निकै दुख लागेको बताइन् । आफ्नो जन्मभुमिमा हजारौं आफ्ना-आफन्त ले ज्यान गुमाउनुका साथै घर परिवारबिहीन भएको देख्दा हृदय छियाछिया भएको बताउदै उनी भन्छिन्,’यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन, सारा नेपाली,सारा विश्व दुखी छ । त्यसैले सबैले हृदय खोलेर सहयोग गर्नुस प्लीज।’ ‘परदेशी’ जस्तो ब्लकबस्टर फिल्मकी नायिका रजनीको यही दशैमा नयाँ फिल्म ‘छ माया छ्पक्कै २’ प्रदर्शन हुदैछ । अभिनयका साथमा फार्मेसीस्ट,योग-ध्यान प्रशिक्षण,ब्याबसाय अनि समाजसेवीका रुपमा पनि उनी सकृय छिन ।

For More videos Log on to Mazzako TV