फिल्मको प्रचार छाडेर बाढीपीडितको सहारा बनिन् प्रियना आचार्य, ५ गाडी राहत बोकेर पुगिन् रसुवा–नुवाकोट !
काठमाडौँ । अभिनेत्री प्रियना आचार्यले फिल्मको प्रचारभन्दा माथि मानवतालाई राख्दै बाढीपीडितका लागि ठूलो सहयोग गरेकी छन्। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भइरहेका बेला ‘कार्की साइँला’की अभिनेत्री प्रियना राहत सामग्रीसहित प्रभावित क्षेत्रतर्फ सक्रिय भएकी हुन्।

फिल्म ‘कार्की साइँला’ असोज २ गतेबाट प्रदर्शन हुँदैछ। रिलिजको मिति नजिकिँदै गर्दा कलाकारहरू प्रचारप्रसारमा व्यस्त हुनुपर्ने समय हो। तर प्रियना भने फिल्मको प्रचार छाडेर बाढीपीडितको पीडामा मल्हम लगाउनतर्फ लागेकी छन्।
उनले आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि पठाएकी हुन्। खाद्यान्नलगायत आवश्यक सामग्री संकलन गरी प्रभावित परिवारसम्म पुर्याउने अभियानमा उनी जुटेकी छन्।

प्रियना भन्छिन्, अहिले फिल्मको प्रचारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहत आवश्यक रहेकाले आफू मानवीय सहयोगमा सक्रिय भएको बताउँछिन्।
यता प्रियना अभिनित ‘कार्की साइँला’ पनि असोज २ गतेदेखि देशभरका सिनेमाघरमा आउँदैछ। भारी बोकेर जीविकोपार्जन गर्ने एक पात्रको कथामा आधारित फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन्। फिल्मको ‘लग्यौ परान’ गीतले चर्चा पाएसँगै जितु र प्रियनाको जोडीप्रति पनि दर्शकको चासो बढेको छ।

तर फिल्म रिलिजको मुखमा प्रियना आचार्यले गरेको यो मानवीय पहलले भने उनको फिल्मी परिचयभन्दा बाहिरको अर्को रूप देखाएको छ—पर्दाकी नायिका मात्र होइन, विपद्को समयमा पीडितको साथमा उभिने नागरिक पनि।
For More videos Log on to Mazzako TV







