काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले देशमा विपद्को अवस्था सिर्जना गरेपछि त्यसको प्रभाव ग्ल्यामर क्षेत्रमा समेत परेको छ। यही अवस्थालाई मध्यनजर गर्दै ‘फेस अफ नेपाल–२०२६’को बहुप्रतिक्षित ग्रान्ड फिनाले स्थगित गरिएको छ।

आयोजक एमएस प्रोडक्सनले सूचना जारी गर्दै विपद्को यस संवेदनशील अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गर्ने निर्णय गरिएको जनाएको छ।

यसअघि अगस्ट ३० मा हुने तय भएको फिनाले अब सेप्टेम्बर ६ मा आयोजना हुने भएको छ। ग्वार्कोस्थित रोयल टुलिपमा बेलुका ५ बजेबाट फिनाले सुरु हुनेछ।

आयोजकले अगस्ट २८ मै फिनाले स्थगित गरिएको जानकारी दिएको थियो। अहिले भने नयाँ मिति सार्वजनिक गर्दै प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूप्रति सहयोग र समझदारीका लागि आभार व्यक्त गरेको छ।

यस वर्षको फिनालेमा १९ जना प्रतियोगी उपाधिका लागि भिड्दैछन्, जसमा ८ महिला र ११ पुरुष प्रतियोगी रहेका छन्।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, अभिनेत्री तथा फेस अफ नेपाल–२०२१ नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल–२०२४ का हिमाञ्चल राज केसी, फेसन डिजाइनर सुकनीता चौलागाईं तथा मनीष थापा रहेका छन्।

विशेष कुरा त के छ भने कोरियाली फेसन शोका परिचित अनुहार याङ युई सिङ फिनालेका लागि नेपाल आइसकेका छन्।

अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा आयोजना हुँदै आएको ‘फेस अफ नेपाल–२०२६’को फिनाले अब सेप्टेम्बर ६ मा हुने भएपछि प्रतियोगी र दर्शकको प्रतीक्षा फेरि चुलिएको छ।

For More videos Log on to Mazzako TV