‘युग’को क्यामेरा रोकियो, बाढीपीडित पीडितको आँसु पुछ्न अघि सर्यो निर्माण टोली !
काठमाडौं ।
क्यामेरा अन हुने समय थियो… कलाकारहरू सुटिङका लागि तयार हुँदै थिए… लोकेसन तय भइसकेको थियो। तर अचानक देशमा आएको विपद्ले चलचित्र ‘युग’को यात्रा केही समयका लागि रोकिदियो।
तर क्यामेरा रोकिए पनि मानवता रोकिएन !
भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चलचित्र ‘युग’को निर्माण टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

देश विपद्मा परिरहेका बेला चलचित्र निर्माणभन्दा पहिले पीडित नागरिकलाई साथ दिनुपर्छ भन्ने निष्कर्षसहित निर्माण टोलीले उक्त रकम सहयोग गरेको निर्देशक कोमलनाथ खतिवडाले जानकारी दिएका छन्।
निर्देशक खतिवडाका अनुसार देशमा सिर्जिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै निर्माण टोलीको सहमतिमा राहत कोषमा रकम जम्मा गरिएको हो।
“फिल्म त भोलि पनि बनाउन सकिन्छ, तर विपद्मा परेका नागरिकलाई अहिले साथ चाहिएको छ।”
यही भावनाका साथ निर्माण टोलीले सहयोग गरेको हो।
केही दिनअघि मात्रै काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्र ‘युग’को शुभमुहूर्त सम्पन्न भएको थियो। निर्माण पक्षले भदौ १५ गतेदेखि छायांकन सुरु गर्ने तयारी गरेको थियो। तर देशको वर्तमान परिस्थितिका कारण चलचित्रको छायांकन केही दिनका लागि स्थगित गरिएको छ।
अब परिस्थिति सामान्य बन्दै गएमा ‘युग’को निर्माण टोली यही साताभित्र पोखरा प्रस्थान गर्ने तयारीमा रहेको निर्देशक खतिवडाले बताएका छन्।

फिल्मको कथा पर्दामा देखिनुअघि नै निर्माण टोलीले वास्तविक जीवनमा एउटा फरक कथा लेखेको छ—
विपद्मा परेकालाई साथ दिने कथा।
किनकि भनिन्छ नि,
“ठूलो पर्दामा हिरो बन्नुभन्दा ठूलो कुरा, वास्तविक जीवनमा कसैको आँसु पुछ्ने हिरो बन्नु हो।”
अब ‘युग’को क्यामेरा कहिले अन हुन्छ, त्यो त समयले बताउला।
तर बाढीपीडितका लागि गरिएको १ लाख १ हजारको यो सहयोगले भने ‘युग’ सुरु हुनुअघि नै निर्माण टोलीको मानवीय पक्ष देखाइदिएको छ।








