पूजा र विजयको ‘रत्यौली’ सुरु, पशुपतिमा पूजा गरेपछि जिरीतर्फ यस्तो तयारी !
मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको बहुप्रतीक्षित नेपाली फिल्म **‘रत्यौली’**को छायांकन आजबाट सुरु भएको छ। निर्माण टोलीले बिहान पशुपति क्षेत्रमा पूजा गर्दै फिल्मको छायांकन शुभारम्भ गरेको हो। काठमाडौंमा दुई दिनसम्म छायांकन गरेपछि फिल्मको टोली दोलखाको जिरीतर्फ प्रस्थान गर्नेछ। निर्माणपक्षका अनुसार जिरीमा करिब एक महिनासम्म फिल्मको छायांकन गरिनेछ।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विजय बराल र पूजा शर्मासँगै लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की लगायतका कलाकारको अभिनय रहनेछ।पूजा शर्माको प्रस्तुतिमा बन्न लागेको फिल्मका निर्माता सुरज आचार्य हुन्। हरि हुमागाँई र उत्तम हुमागाँई डीओपी रहेको फिल्ममा सुनिल निउरे मुख्य सहायक निर्देशक तथा दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजरका रूपमा जोडिएका छन्।

फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ। नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘रत्यौली’लाई फागुन २१ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा निर्माणपक्षले गरिसकेको छ।अब जिरीको एक महिनाको छायांकनले ‘रत्यौली’लाई कस्तो रूप दिन्छ, त्यसतर्फ दर्शकको नजर रहनेछ।
For More videos Log on to Mazzako TV







