काठमाडौँ । २०७२ सालमा आफ्नो लेखन, निर्माण तथा निर्देशनमा बनेको ‘भैरव’मार्फत धमाकेदार एक्सन पस्केर सबैलाई आश्चर्यमा पारेका निखिल उप्रेतीले आफ्नो नयाँ सिनेमा ‘आचार्य’को मंगलबार सार्वजनिक टिजरमार्फत थप आश्चर्य बाहिर ल्याएका छन् । सार्वजनिक टिजरले थप परिस्कृत र धमाकेदार एक्सनसहित निखिल दर्शकमाझ आउने बलियो संकेत गरेका छन् । नेपाली फिल्ममा अहिलेसम्मको नयाँ प्रयोगसहितको एक्शन समावेश गरि टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा निखिललाई आकर्षक स्टन्ट र एक्सन गर्दै गरेको देख्न सकिन्छ । यसपटक उनले दर्शकलाई फरक र विशेष शैलीको एक्सन देखाउने संकेत टिजरमार्फत सशक्त रूपमा गरेका छन् । सार्वजनिक टिजरमा एक्सन र इमोसनले भरिपूर्ण छ, जसमा निखिल उप्रेतीलाई फरक–फरक अवतारमा देख्न सकिन्छ । नेपाली फिल्ममा दर्शकको आङ नै जिरिङ्ग पार्ने खतरनाक स्टन्टको सुरुवात गर्ने निखिलले यस फिल्ममार्फत पनि त्यसलाई निरन्तरता दिएका छन् । सामान्यतः नेपाली फिल्ममा कमै देख्न पाइने उच्चस्तरका एक्सन र स्टन्ट टिजरमा समावेश गरिएका छन् । ‘आचार्य’ अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो ।

यस फिल्ममा निखिलका साथै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको पनि अभिनय रहेको छ । फिल्ममार्फत पूर्णिका सिजापतिले नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् । त्यसैगरी, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय देख्न सकिन्छ ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको यस फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ । बन्दे प्रसादले सम्पादन गरेको ‘आचार्य’को टिजर तथा ट्रेलर भने सन्देश शाहले तयार पारेका हुन् । निर्माण पक्षका अनुसार फिल्मको आधिकारिक ट्रेलर आगामी असोज १ गते सार्वजनिक गरिनेछ भने फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

For More videos Log on to Mazzako TV