गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आज शनिबार प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्म काठमाडौं उपत्यकाका क्यूएफएक्स (भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, बिग मुभिज कमलपोखरी), सीडीसी सिनेमाज (सुन्धारा), सीके सिनेमाज (सितापाइला), रञ्जना सिनेप्लेक्स (नयाँ सडक), फ्रेन्ड्स सिनेमाज (बुटवल) तथा इलाम र नेपालगञ्जको सिने रोयल मा ५१ औँ दिनसम्म सफलतापूर्वक प्रदर्शन भइरहेको छ।

फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई ले दर्शकले दिएको मायाप्रति आभार व्यक्त गर्दै दिनभर विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गर्ने जानकारी दिएका छन्। उनले भने, “षट्कोण आर्ट्सले निर्माण गरेका अघिल्ला फिल्महरूझैँ यसपटक पनि दर्शकबाट अपार माया पाएका छौँ। यसका लागि धन्यवाद व्यक्त गर्न शब्द नै पर्याप्त छैनन्। आज दिनभर विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छौँ।”

उनका अनुसार नेपालमा ५१ औँ दिन मनाइरहेको ‘लालीबजार’ को अन्तर्राष्ट्रिय प्रदर्शनसमेत सुरु भइसकेको छ। हाल युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको फिल्म क्रमशः जापान, अस्ट्रेलिया र अमेरिका मा पनि प्रदर्शन हुने तयारीमा रहेको उनले बताए।

विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ। घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको यो फिल्म अहिले १० करोड क्लब तर्फ अग्रसर छ।

फिल्मको निर्देशन यम थापा ले गरेका हुन्। यसअघि षट्कोण आर्ट्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरी लगायतका कलाकारको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदी ले अभिनयमा डेब्यु गरेका छन्। विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन्।

फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराई ले संयुक्त रूपमा लेखेका हुन्। प्रदीप भट्टराई कार्यकारी निर्माता रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता हुन्।

For More videos Log on to Mazzako TV