भाइटीकाबाट सर्यो ‘जारी २’, अब कात्तिक २१ मा
कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति फेरि परिवर्तन गरिएको छ। सुरुमा असोज ३ गते रिलिज गर्ने तयारी भए पनि जेनजी आन्दोलनका कारण फिल्मलाई स्थगित गर्दै कात्तिक ६ गते (भाइटीका) सारिएको थियो। तर, मंगलबार निर्माता रामबाबु गुरुङले सामाजिक सञ्जालमार्फत पोस्टर सेयर गर्दै नयाँ निर्णयअनुसार फिल्म अब आगामी कात्तिक २१ गतेदेखि प्रदर्शन हुने घोषणा गरेका छन्।

फिल्मको मिति परिवर्तनसँगै तिहारमा रिलिज हुने तयारीमा रहेका तीन फिल्म ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’ र ‘मैझारो’ लाई ठूलो राहत पुगेको छ। तर, सोही दिन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन’ भने बलियो प्रतिस्पर्धीसँग जुध्नुपर्ने परिस्थितिमा पुगेको छ।
लिम्बू समुदायको मौलिक लोकबाजा च्याब्रुङ मा आधारित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु र सिर्जना निङ्लेखु लगायत कलाकारको अभिनय रहेको छ। २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’ को सिक्वेलका रूपमा आएको ‘जारी २’ बाट दर्शकमा थप अपेक्षा बढेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा बनेको यो फिल्ममा निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको छ भने सञ्जय लामाले छायांकन, निमेष श्रेष्ठले सम्पादन, उत्तम न्यौपानेले साउन्ड डिजाइन, कोविद बज्राचार्यले ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानले रंग संयोजन गरेका छन्। निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेको फिल्मलाई दर्शकले कात्तिक २१ बाट हलमा हेर्न पाउनेछन्।
For More videos Log on to Mazzako TV







