समीर भट्ट अभिनीत ‘बलिदान’ अमेरिकाको २०० भन्दा बढी हलमा
यस वर्षको दशैँको फूलपातीको दिन नेपाली चलचित्र ‘बलिदान’ प्रदर्शनमा आउन लागेको छ। सन्तोष सेनको निर्देशन र समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा देखाइने भएको छ। यससँगै अमेरिकाभरका दुई सय भन्दा बढी हलमा एक हजार भन्दा बढी शो सहित प्रदर्शन हुने अपेक्षा गरिएको छ। योसँगै नेपाली चलचित्रको इतिहासमा नयाँ अध्याय सुरुवात भएको बताइएको छ।

निर्देशक सेनका अनुसार यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शन भएको थिएन। ‘बलिदान’ ले यो अवरोध तोड्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ। एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता प्रतिष्ठित अमेरिकी हलहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ। यस चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन्। ‘बलिदान’ लाई नेपाली चलचित्रको साहसी कदमको रुपमा लिइएको छ।









