तनहुँको गलेश्वर मन्दिरमा आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को विधिवत् शुभ मुहूर्त सम्पन्न भयो। करिब दुई सय जना बटुकहरुले एकसाथ हवनसहित पूजाआर्चना गर्दै मुहूर्त गरेका कारण यसलाई नेपाली फिल्म इतिहासकै दुर्लभ र भव्य मुहूर्त मानिएको छ। प्रायः केही कलाकार र टिमले साधारण रूपमा गर्ने मुहूर्तभन्दा फरक, यो फिल्मको सुरुवात निकै विशेष र धार्मिक रंगमा भएको हो।

निर्माण पक्षका अनुसार मुहूर्त सम्पन्न भएसँगै फिल्मको छायांकन सोही दिनदेखि चितवनमा सुरु गरिएको छ। निर्देशक चन्द्र पन्तले करिब एक महिनासम्म छायांकन चल्ने र फिल्म काठमाडौं तथा भारतको हैदरावादमा समेत खिचिने जानकारी दिएका छन्। फिल्ममा नायक पल शाह, दक्षिण भारतीय स्टार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त र उषा उप्रेती मुख्य भूमिकामा देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावत, गजित बिष्ट, माओत्से गुरुङलगायत कलाकारको पनि उपस्थिति थियो।

आमा र सन्तानबीचको स्नेह र सम्बन्धलाई भावनात्मक रुपमा प्रस्तुत गर्ने ‘आ बाट आमा’ को निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन्। नवराज उप्रेतीले छायांकन निर्देशन गर्ने फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिनेछन्। आगामी २०८२ फागुन १५ गते प्रदर्शन मिति तोकिएको यो फिल्मको विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ भने नेपालमा वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।

For More videos Log on to Mazzako TV