कैलाश पर्वतको पोस्टरसँगै ‘शिवांश’ को रिलिज घोषणा
चलचित्र ‘शिवांश : च्याप्टर–१’ आगामी कात्तिक २७ गते रिलिज हुने भएको छ। कैलाश पर्वतमा जटाधारी शिव र साँढेको आकृति समेटिएको पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज मिति घोषणा गरेको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा बनेको यस चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्, जुन उनको डेब्यु निर्देशन पनि हो। निर्माता अञ्जान केसी स्वयंले लेखेको कथामा आधारित यस फिल्मको स्क्रिनप्ले बारत लिम्बूले तयार गरेका हुन्। पोखरा आसपास छायांकन गरिएको चलचित्र यतिबेला पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ।

फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको छ भने विकास जोशी, विमला लिम्बू, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायतका कलाकार पनि देखिनेछन्। गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको शब्द तथा न्ह्यू बज्राचार्य र शिवाकोटीकै संगीत रहेको छ। राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीले स्वर दिएका छन्। द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने भीएफएक्स डाइरेक्टरमा विराज खड्का छन्। चलचित्र चौतारीले पोस्ट–प्रोडक्सनको काम गरिरहेको यो फिल्मको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)मार्फत हुने बताइएको छ।
For More videos Log on to Mazzako TV







