निर्देशक दिनेश राउतले आफ्नो नयाँ प्रेमकथामा आधारित चलचित्र ‘कुमारी’ को भव्य घोषणा गरेका छन्। काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा पहिलो पोस्टर सार्वजनिक गर्दै मुख्य कलाकारका रूपमा अभिषेक खड्का र आकृति राजभण्डारीलाई प्रस्तुत गरियो। कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’को प्रस्तुति विशेष आकर्षण रह्यो। लिम्बुले यसै चलचित्रबाट पार्श्व गायनमा डेब्यु गर्ने घोषणा गर्दै ‘कहाँ छौ’ गीत प्रस्तुत गरे।

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका राउतले दर्शकको चाहनाअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बन्ने यस चलचित्रमा अभिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायतका कलाकारको पनि अभिनय रहनेछ। चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् भने संगीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटी संलग्न छन्।

निर्माता महेन्द्र अधिकारी रहेको ‘कुमारी’को छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना छ। चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापति, कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइन आशिका शर्मा, रंग संयोजन सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले सम्हाल्नेछन्। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौंमा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्नेछन्। पोस्टर डिजाइन रोयल भिमसेनले तयार गरेका यस चलचित्रलाई दर्शकले उच्च प्रतीक्षामा राखेको छ।

For More videos Log on to Mazzako TV