निखिल उप्रेतीको ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान, विश्वस्तरीय एक्सन फिल्मको तयारी
अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार काठमाडौंबाट निखिलसहित निर्माण टिम पश्चिम बंगाल प्रस्थान गरेको हो। निर्माण टिममा निर्मात्री–अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायांकार मनु बिके र मुख्य सहायक निर्देशक सयनम अधिकारी रहेका छन्। चलचित्रको छायांकन भदौ ६ गते (अगस्ट २२) बाट भारतको प्रसिद्ध स्थान डुअर्सबाट सुरू हुने भएको छ। पहिलो चरणमा डुअर्ससहित बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा छायांकन हुनेछ भने दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड तथा तेस्रो चरणमा नेपालमा फिल्म खिचिने लक्ष्य राखिएको छ।

‘आचार्य’मा निखिल उप्रेती नै प्रमुख भूमिकामा रहनेछन्। अन्य कलाकारमा पूर्णिका सिंजापती, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया र विशाल पहारी रहेका छन्। बलिउड र दक्षिण भारतीय चलचित्रका केही चर्चित कलाकारहरू पनि यस फिल्ममा देखिने चर्चा छ। निखिलले यस फिल्मलाई विश्वस्तरीय एक्सन फिल्म भनेर वर्णन गरेका छन्। यसै फिल्मबाट सञ्चिताले कोरियोग्राफीमा डेब्यु गर्नेछिन्, जहाँ नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ।

निखिलले २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’ बाट निर्देशन यात्रा सुरु गरेका थिए। ‘आचार्य’ उनको दोस्रो निर्देशन फिल्म हुनेछ। एक्सन स्टारको रूपमा नेपाली दर्शकमाझ परिचित निखिलले आफ्ना प्रशंसकका लागि उत्कृष्ट एक्सन दृश्य र रोचक कथासहितको फिल्म तयार पार्ने लक्ष्य राखेका छन्।
For More videos Log on to Mazzako TV







