निरुता सिंह ‘३६ को आँकडा’मार्फत नेपाली फिल्ममा भव्य कमब्याक
नायिका निरुता सिंह नयाँ फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आएकी छन्। मुम्बइबाट आइतबार राति काठमाडौं अवतरण गरेकी उनले पत्रकारहरूसँग कुरा गर्दै आफू फेरि निरन्तर नेपाली फिल्ममा काम गर्ने बताइन्। उनले भनिन्, “अब म कहीँ जादिनँ, निरन्तर नेपाली फिल्ममै काम गर्छु। बिचमा मलाई कोरोना भयो, त्यसैले काम गर्न पाइनँ। तर अब भने फिल्ममै केन्द्रित हुने छु।”

सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको यो फिल्ममा निरुताको भूमिका के हो भन्नेबारे भने खुलाइएको छैन। निर्देशक श्रेष्ठले पनि हाल भूमिका सार्वजनिक गर्न नमिल्ने बताए। उनले भने, “मैले सहायक निर्देशक हुँदा निरुतासँग केही फिल्ममा काम गरेको थिएँ। तर, निर्देशक भएपछि भने पहिलोपटक सहकार्य गर्दैछु। यस फिल्ममा निरुताजी नै चाहिने विशेष भूमिका छ, त्यसैले उहाँलाई आग्रह गरेका हौं।”

‘३६ को आँकडा’मा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय रहनेछ। विशेष कुरा के भने, रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’पछि पहिलोपटक फेरि एउटै पर्दा शेयर गर्ने भएका छन्। निरुताले यसअघि ‘दाल भात तरकारी’मा काम गरेकी थिइन् भने अब लामो अन्तरालपछि नयाँ फिल्ममार्फत दर्शकमाझ फर्किँदैछिन्।
For More videos Log on to Mazzako TV







