‘माइतीघर’को शीर्ष गीतमा नाचेर जित्नुस ५ लाख
दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘माइतीघर’को प्रचार प्रसार तीव्र बनाइएको छ। देशभरका हलमा ठूला पोस्टर र विभिन्न स्थानमा होर्डिङबोर्ड राखी प्रचार गरिँदै छ। प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै कमी नगर्ने घोषणा गरेका छन्। साथै, फिल्मको शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’मा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको छ। भदौको पहिलो साताबाट सार्वजनिक हुने गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर भदौ २० गतेसम्म ओएसआर डिजिटलको मेलमा osrdigitalnp@gmail.com पठाउनुपर्नेछ। पठाइएका भिडियोहरू ओएसआरको युट्युब, फेसबुक र टिकटकमार्फत सार्वजनिक गरिने र सर्वाधिक भ्यूज तथा उत्कृष्ट कोरियोग्राफीको आधारमा विजेता चयन गरिने निर्माण पक्षले जनाएको छ।

मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, सुरेन्द्र पौडेलको सम्पादन र सुशन प्रजापतिको डीओपी रहेको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्। उत्कृष्ट भिडियोको नाम असोज १२ गते सार्वजनिक गर्दै सोही दिन पुरस्कार प्रदान गरिने निर्माण पक्षले जनाएको छ।
For More videos Log on to Mazzako TV







