‘मोहर’को आक्रामक व्यापार उत्साहित पल, नीति र बेनिशा
चलचित्र ‘मोहर’ शुक्रबारदेखि रिलिजमा आएपछि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। शुक्रबार औषत ओपनिङ भए पनि शनिबार मध्यान्नदेखि दर्शकको भीड बढ्न थालेको थियो। काठमाडौं मात्र नभएर मोफसलका हलहरुमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखिन थाल्यो। नेपालगञ्जका हलहरुले हिन्दी फिल्मका शोज कटौती गरी ‘मोहर’का थप शोज राखेका थिए भने पोखरा, बुटवल र चितवनमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ।

फिल्मका निर्देशक ओम प्रतिक, नायक पल शाह, र नायिकाद्धय बेनिशा हमाल र नीति शाह शनिबार काठमाडौंका हलहरुमा पुगेका थिए। काठमाडौंको अष्टनारायण हलमा दर्शकको भिड लागेका थिए र पल शाहले दर्शकलाई अभिवादन गर्दै धन्यवाद दिएका थिए। नायिकाद्धय बेनिशा हमाल र नीति शाहले दर्शकको सकारात्मक प्रतिक्रिया र वर्ड अफ माउथले आफूहरुलाई उत्साहित बनाएको बताए। आइतबार पनि काठमाडौं र मोफसलका हलहरुमा उच्च अकुपेन्सी कायम रहेको छ।

फिल्मका वितरक करण श्रेष्ठले ‘मोहर’ले नेपाली फिल्म क्षेत्रमा केही महिनादेखि चलेको व्यापारीक खडेरीलाई चिरेको बताए। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई चुम्बन जंग शाहीले लगानी गरेका छन्। नायक पल शाह पूर्वी जिल्लाका हलहरुमा दर्शक भेट्न पुगेका छन् भने नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हलहरुमा सक्रिय छन्। वर्ड अफ माउथ बलियो भएकाले आगामी दिनमा पनि चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माणपक्षमा छ।









