साउन २३ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ देशभर धमाधम खुल्दैछ। क्यूएफएक्स, आइएनआई सिनेमाज, एफक्युब, वान सिनेमाज, सिने डी सेफलगायत देशका ठूला मल्टिप्लेक्सहरूले राम्रो शोज दिँदै बुकिङ प्रक्रिया सुरु गरेका छन्। हालसम्म काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो पाएको सिनेमाले देशभर १५० बढी शोमा प्रदर्शन हुने अपेक्षा गरिएको छ। सिनेमाका पोस्टर, टिजर, र ट्रेलरबाट दर्शकमाझ बनाएको सकारात्मक हाइपलाई ध्यानमा राख्दै हल सञ्चालकहरूले शो विस्तार गरिरहेका छन्।

यसैबीच, निर्माण टिमले सार्वजनिक गरेको नयाँ गीत ‘रातो पछ्यौरी’ ले प्रचारमा झनै ऊर्जा थपेको छ। अञ्जना खतिवडा र रवि ओडको आवाजमा सजिएको यो गीतमा बाबुल गिरीले शब्द, संगीत र एरेञ्ज गरेका छन्। गीतले नेपाली मौलिकता र सिनेमाको कथा भावलाई सशक्त रूपमा प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया आएको छ। युट्युबमा सार्वजनिक भएको केही घण्टामै गीतले राम्रो भ्यू र कमेन्ट बटुल्दै सिनेमा प्रतिको प्रतिक्षा अझ बलियो बनाएको छ।

राज बहादुर सानेको निर्देशनमा बनेको यस सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मालगायत कलाकारहरूको अभिनय छ। सामाजिक सन्देश बोकेको हास्य–व्यङ्ग्यप्रधान ‘सिटामोल’ले बेरोजगारी, गरिबी र सरकारी उदासिनतालाई मनोरञ्जनको शैलीमा प्रस्तुत गर्नेछ। तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा बनेको सिनेमा ‘सिटामोल’ले प्रचार सामग्रीबाट पाएको सकारात्मक साथ र हालको टिकट बुकिङ ट्रेन्ड हेर्दा बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने स्पष्ट संकेत देखिएको छ।

For More videos Log on to Mazzako TV