दशैंमा आउँदै ‘माइतीघर’, फस्टलुकले जित्दै मन
रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शक र फिल्मकर्मीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । मिलन तामाङको निर्देशनमा बनेको फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुलाल छन् । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरूको गहिरो भाव, घरको उज्यालो र पारिवारिक सन्देश देखाइएको छ, जसले माइतीघरको आत्मीयता र न्यानोपनलाई चित्रण गर्ने प्रयास गरेको छ ।

यस फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा लगायतका कलाकारहरूको अभिनय रहेको छ । कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ । छायांकन सुशन प्रजापति, सम्पादन सुरेन्द्र पौडेल र संगीतमा एलिस कार्की, एस.डी. योगी, चन्द्रकुमार दोङ तथा स्वर्गीय जयदेवको संयोजन छ । फिल्म आगामी असोज १३ गते, दशैंको फूलपातिमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।
‘माइतीघर’ले तामाङ समुदायको सांस्कृतिक पक्ष र पारिवारिक भावनालाई उजागर गर्ने बताइएको छ । निर्माता रोहित अधिकारीले यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ जस्ता हिट फिल्महरू निर्माण गरिसकेका छन् । उनले ‘माइतीघर’लाई विशेष फिल्म बनाउने लक्ष्यका साथ प्रचारप्रसारमा समेत कुनै कमी नगर्ने बताएका छन् । फस्टलुक सार्वजनिक भएसँगै दर्शकको उत्साह र प्रतिक्रिया उत्साहजनक रहेको निर्माण टिमको भनाइ छ ।
For More videos Log on to Mazzako TV







