निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने आगामी प्रेमकथानक चलचित्र ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’को १४औं सिजनका उत्कृष्ट आठ प्रतियोगीमध्ये एक रहेका अनिकेतलाई अडिसनमार्फत छानिएको निर्देशक चाम्सले जानकारी दिएका छन्। नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेराअघि प्रस्तुत हुने क्षमताले निर्माण टिमलाई प्रभावित बनाएको छ।

‘सुम्निमा’ चलचित्र गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा तयार हुँदैछ। चलचित्रको कथा प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा आधारित रहनेछ। नामले नारीप्रधान जस्तो देखिए पनि कथा भने प्रेम र संघर्षसँग जोडिएको रहने निर्देशक चाम्स बताउँछन्। यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही चलचित्रमा अनुबन्धित भइसकेका छन् भने अन्य कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया जारी रहेको छ।

चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि नेपाल र लन्डनमा सुरु गरिने तयारी भइरहेको छ। निर्देशक चाम्सको अघिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ले बक्स अफिसमा उल्लेखनीय सफलता पाएको थियो, जसको आधारमा ‘सुम्निमा’ पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गरिने योजना रहेको चाम्सले बताएका छन्।

For More videos Log on to Mazzako TV