चलचित्र ‘माग्ने राजा’ को दोस्रो गीत सार्वजनिक
आगामी भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘माग्ने राजा’ को दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। गीतमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्काले प्रस्तुति दिएका छन्। गीतको संगीत, शब्द रचना र एरेञ्ज बाबुल गिरीले आफैं गरेका हुन् भने रोनिश खड्काले चाइल्ड भर्सनमा साथ दिएका छन्। गम्भिर बिष्टको कोरियोग्राफीमा तयार गरिएको भिडियो र अडियोले दर्शकको मन जित्न सफल भएको छ र सामाजिक सञ्जाल टिकटक तथा फेसबुक रिल्समा भाइरल हुने सम्भावना देखिएको छ।

निर्देशक ऋषि लामिछानेले करिब आठ वर्षपछि निर्देशनमा कमव्याक गरेको यो चलचित्र ‘माग्ने राजा’ को निर्माता तथा प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्, जो हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पनि छन्। आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमामा केदार घिमिरे, वर्षा, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, र मिस पबी पवित्रा साकीको अभिनय रहेको छ। साथै, अभिनेता आर्यन सिग्देलले पनि विशेष भूमिका निभाएका छन्।

सिनेमाको कथा, पटकथा तथा संवाद सामीप्य राज तिमल्सेनाले तयार पारेका हुन् भने संगीतकार दीपक शर्मा र बाबुल गिरी हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको चलचित्र आरआर फिल्म्सले वितरण गर्दैछ। ‘माग्ने राजा’ ले नेपाली दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने अपेक्षा गरिएको छ।








