चलचित्र कोशेढुंगा को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ दर्शकबाट राम्रो प्रतिक्रिया
चलचित्र कोशेढुंगाको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको छ । सेभेन सिज इन्टरनेसनलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ । गीतमा खेम सेन्चुरी, समीक्षा अधिकारी र दिपिका बयम्बु मगरले स्वर दिएका छन् । गीतले विवाहित र अविवाहित महिलाबीचको फरक अनुभव र जीवनसाथीको अपेक्षालाई प्रष्ट रूपमा प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट भावना प्रस्तुत गरेका छन् भने ऋचा शर्माले विवाहितको प्रेम झल्काएका छन् । मन्जिल कुमार अविवाहित भएर विवाह गर्ने आशा राखेका छन् भने सुरक्षा पन्तसँग सकारात्मक सम्बन्ध भिडियोमा देखिन्छ । यस गीतको टिकटकमा समेत धेरै प्रतियोगीहरूले भाग लिइरहेका छन् र टिकटक ट्रेन्डमा छ ।

निर्माण टिमले टिकटक प्रतियोगिता पनि आयोजना गरेको छ जसमा ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ह्यास्ट्याग प्रयोग गरी भिडियो पठाउन सकिन्छ । बेस्ट प्रदर्शनले ३० हजार, मोस्ट क्रियटिभले २० हजार र मोस्ट लाइकले १० हजार पुरस्कार पाउनेछन् । सरोज पौडेलले निर्देशन गरेको कोशेढुंगा चलचित्र भदौ १२ गते नेपालसहित ४० भन्दा बढी देशमा एकसाथ रिलिज हुँदैछ ।








