अनुप विक्रम शाही र मिलन चाम्सको चौथो सहकार्य
नेपाली सिने उद्योगमा सफल निर्देशक मिलन चाम्सले आफ्नो नयाँ प्रेमकथामा आधारित चलचित्र ‘सुम्निमा’ को तयारी तीव्र पारेका छन्। यस चलचित्रमा अभिनेता अनुप विक्रम शाही मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यो फिल्ममार्फत निर्देशक चाम्स र अनुप विक्रम शाहीबीच चौथोपटक सहकार्य हुन लागेको हो। यसअघि उनीहरू ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ मा एकसाथ काम गरिसकेका छन्। पछिल्लो सहकार्य ‘लिली बिली’ पछि झन्डै सात वर्षपछि पुन: साथमा देखिन लागेका हुन्।

अभिनेता शाहीका अनुसार, ‘सुम्निमा’ मा उनले नयाँ खालको चरित्र निभाउनेछन्, जुन अबसम्मको करिअरमा उनले नपाएको अनुभव हुने बताइएको छ। उनी हाल चरित्रको तयारीमा व्यस्त छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्ट को सहनिर्माणमा बन्ने यो फिल्मको नामले नारीप्रधान कथा झल्काए पनि, निर्देशक चाम्सका अनुसार यो विशुद्ध प्रेमकथा हुनेछ।

चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजन पहिल्यै अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टोलीको चयन प्रक्रिया जारी रहेको निर्देशक चाम्सले जानकारी दिएका छन्।

चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने यसको छायांकन आगामी अगस्ट महिनामा लन्डन र नेपालमा हुने बताइएको छ। यही बीच, मिलन चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ ले नेपाली बायोपिक विधामा सबैभन्दा बढी कमाइ गर्ने कीर्तिमान राख्दै ब्लकबस्टर व्यापार गरेको छ। निर्देशक चाम्सले ‘सुम्निमा’लाई पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै तयार पारिने बताएका छन्।
For More videos Log on to Mazzako TV







